४ बैशाख २०८१, मंगलबार

अफगानिस्तानमा सिनियर र जुनियर नेपाली सुरक्षाकर्मीबिच झडप :- ४० नेपाली स्वदेश फर्कदै


nepal_flag

१२ असार २०७३:‍- अफगानिस्तानको काबुलस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत नेपाली नेपालीबीच झडप भएको छ । गएराति स्थानीय समयअनुसार करिव साढे ९ बजे जिफोरएसमा कार्यरत सिनियर र जुनियर सुरक्षाकर्मी नेपालीबीच झडप भएको हो ।

शनिबार ३ सय ८५ जना नेपाली सुरक्षाकर्मीले रातिबाट ड्युटी छाड्ने घोषणा गरेको तर पछि गोराहरुले सिनियर लेभलका नेपाली सुरक्षाकर्मीलाई ‘फकाएर’ काममा लैजान लागेपछि ड्युटी जाने वा नजाने भन्ने विषयमा नेपाली नेपालीबीच विवाद हुँदा झडप भएको जानकरी प्राप्त भएको छ।

नेपाली कामदारको सुरक्षाको प्रत्याभूति गर्न र तलब बढाउन नसक्ने व्यवस्थापनले अडान राखेपछि सबै नेपाली ड्युटी छाडेर स्वदेश फिर्न राजी भएको थियो । नेपाली कामदारको सवाललाई अफगानिस्तान आइपुगेका कार्यबाहक राजदूत तीर्थराज अर्यालले जिफोरएसका उच्च व्यवस्थापनसमक्ष राखेका थिए ।
नेपालीले नेपाली दूतावासले खेलेको भूमिका प्रति स्वागत गरेको छ । ‘हाम्रा जे जस्तो समस्या बुझ्न क्याम्पमै राजदूत आउनुभयो । उहाँले हाम्रो पक्षमा कम्पनीसँग कुरा राख्न जुन भूमिका खेल्नुभयो । यो राम्रो पक्ष हो,’ पोखराका सत्यराज सापकोटाले भने,‘अब हामी छिट्टै फर्कनेछौं ।’

‘क्याम्पमा गए क्याम्प असुरक्षित । क्याम्पको बाहिर सुरक्षा गर्ने जिम्मा नेपालीलाई छैन । बाटोमा हिँड्दा बाटोमै उडाउला भन्ने चिन्ता,’ उनले भने, ‘कमाण्डरहरु गोरामात्रै छैन । नेपाली पनि छन् । उनीहरुलाई काम गर्ने ठाँउमै राखिएको छ । हाम्रो हितको लागि उनीहरुले केही गर्न सकेका छैनन् ।’

४० नेपाली स्वदेश फर्कदै:

अफगानिस्तानस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत ४० नेपाली आइतबार नेपाल फर्कँदै छन् । गत सोमबार काबुल आक्रमणमा परि १३ नेपालीको मृत्यु भएपछि सुरक्षाको प्रत्याभूति तथा तलब वृद्धिको माग गर्दै आएका नेपालीलाई जिफोरएसले नेपाल पठाउन लागेको हो।

अफगानिस्तानमा कार्यरत पोखराका सत्यराज सापकोटाका अनुसार स्थानीय समय अनुसार बिहान ६ बजे १० जना र साढे ९ बजे ३० जना नेपालीलाई नेपाल फिर्ता पठाइँदै छ ।

४० जना नेपालीमा गएराति सुपरभाइजर र सिनियर लेभलका नेपाली सुरक्षाकर्मीमाथि हातपात गर्नेहरु रहेका छन् । सापकोटाले भने, ‘हामीलाई एकहप्ता भित्र पठाउने भनेको थियो । तर हिजो रातिको घटनाले आज नै पठाउन लागेछन् ।’

सापकोटाका अनुसार जिफोरएसले पठाउन लागेको ४० नेपालीलाई दिनुपर्ने तलब रकम पनि नदिइकन पठाउन लागेको बताए । उनले भने, ‘एकहप्तामा सबै हिसाबकिताब गरेर पाउनुपर्ने रकम दिन्छौं भनेका थिए । तर अहिले त्यो पनि नदिकन पठाउन लागेका छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !