काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर बुझाएको हो ।
प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ । सोमध्ये लामिछानेले करिब ६ करोड रुपैयाँ ठगी गरेको खुलेकोले सोही अनुसारको बिगो लामिछानेको नाममा छुट्टाइएको काठमाडौं प्रहरीले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेको खुलेको थियो । बचतकर्तामध्ये ६९० जनाले प्रहरीमा उजुरी दिएका थिए ।
उनीहरूकै उजुरीका आधारमा गएको कार्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।