१९ फाल्गुन २०८०, शनिबार

सेतोपहरा दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ५ जना पुग्यो


सेतोपहरा दुर्घटना

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !