पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किएका थिए । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो ।
तीन सिमानामा हरेक वर्ष चौरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो । महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत पर्यटक आउने गर्दथे । महोत्सवको प्रचारसँगै बर्सेनि पर्यटकको सङ्ख्या पनि बढिरहेको थियो । यस भञ्ज्याङबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल र कञ्चनजङ्घा हिमशृङखलाको साथै चौँरी गाईको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यो स्थान पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पदमबहादुर विदेशमा रहँदा उहाँकी श्रीमती डिनाले गाउँमै सानो किराना पसल सञ्चालन गरेका थिए । यसले घरखर्च चलाउन सहजिलो भएको थियो । डिनाले किराना पसलसँगै सदरमुकामबाट पाउरोटी खरिद गरी बेच्ने पनि गर्थे । सदरमुकामबाट पाउरोटी ल्याई बिक्री गर्दा ल्याएको समयमा सबै पाउरोटी बिक्री भई नसक्दा मिति सकिने र ५० किलोमिटर टाढा भएकाले फिर्ता पनि नहुने समस्या थियो । यसले कहिलेकाहीँ उल्टै नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्थ्यो ।
घर फर्केपछि श्रीमतीले सुरु गरेको किसाना पसलले मात्रै ४० वर्षका पदमबहादुरलाई चित्त बुझेन । कुनै व्यवसाय गर्ने विचार उहाँको मनमा पलायो । मनमनै उनले पाउरोटी उद्योग सञ्चालन गर्ने सोच बनाए पनि सीपको अभावमा अलमलमा परेका थिए । यतिकैमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलले बेकरीसम्बन्धी छदिने सीप विकास तालिम आयोजना गरेको खबर स्थानीय बुद्धिजीवी सुरेन्द्र अधिकारीबाट थाहा पाए । यस कार्यक्रमले गत वर्षको माघ १५ देखि २० गतेसम्म सदरमुकाम फुङ्लिङमा सञ्चालन गरेको तालिममा सहभागी भए ।
तालिमले उहाँलाई बेकरी उद्योग स्थापना गर्न प्रेरणा मिल्यो । उनको योजनालाई श्रीमतीले पनि समर्थन गरेपछि उनले बेकरी बनाउन आवश्यक मेसिन तथा औजार खरिदको लागि पैसा जोहो गरे । आफूसँग भएको पैसाले मात्र नपुग्ने भएपछि उनले श्रीमतीका नाममा फालेलुङ गाउँपालिकामा रहेको छिमेक लघुवित्तबाट रु तीन लाख २० हजार ऋण निकाले । तालिम सहजकर्ता ज्ञानबहादुर भारतीको सल्लाहअनुसार काठमाडौँ गई करिब रु छ लाख ५० हजारको लगानीमा मध्यम खालको मेसिन र अन्य आवश्यक सामान लिएर गाउँ फर्किए ।
मेसिन ल्याएपछि गाउँपालिका, जिल्ला घरेलु कार्यालय पाँचथर र आन्तरीक राजश्व कार्यालय पाँचथरमा नेपाल सरकारको नियमानुसार गत वैशाखमा पाउरोटी उद्योग दर्ता गरी सञ्चालन गरे । तालिम लिएपछि तीन महिना त दर्ता प्रक्रियादेखि सामान खरिद गर्नमा नै समय बित्यो । उनको उद्योगमा वर्षायामको समयमा दैनिक औसतमा ३५ केजी बराबरको मैदाको पीठोको पाउरोटीका विभिन्न सामग्री उत्पादन हुने गर्दथ्यो ।
हिउँदमा भने पाउरोटीको माग घटेका कारण दैनिक २० केजी बराबरको मैदाको पीठोबाट उहाँले सामग्री उत्पादन गर्दै आएका छन् । सदरमुकामबाट ल्याएको बासी पाउरोटी खान बाध्य स्थानीय उपभोक्ता र पर्यटकहरु गाउँमै बनेको ताजा पाउरोटी पाउँदा निकै खुसी छन् । उनी खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पनि दर्ता गरी गुणस्तरीय उत्पादनको सुनिश्चित गराउने सोचमा छन् ।
गाउँमा केन्द्रीय प्रसारण नभए पनि उद्योग सञ्चालन गर्न आवश्यक विद्युत् पनि स्थानीय लघुजलविद्युत् आयोजनाबाट प्राप्त भएको छ । स्थानीय खेवाथाम खोलाबाट उत्पादित लघुजलविद्युत् (४० किलोवाट क्षमता) आयोजनाको बिजुली प्रयोग गरेबापत आफूले आयोजनालाई पनि मासिक रु तीन हजारसम्म विद्युत् महसुल बुझाउने गरेको उनको भनाइ छ ।
उद्योग सञ्चालन गर्न खपाङ्गी दम्पतीले पूरै समय दिनुभएको छभने आवश्यकताअनुसार पदमबहादुरले आफ्नो भाइहरुलाई पनि दैनिक ज्यालादारीमा बोलाउने गर्छन् । स्थानीय माध्यमिक र आधारभूत विद्यालयको वरिपरि रहेका पसलबाट हरेक दिन पाउरोटीलगायत अन्य सामग्रीहरुको माग हुने भएकाले बिहान समयमा पसलपसलमा पुर्याउन एकजना ज्यालादारी कामदार पनि राखेका छन् ।
उत्पादन गरेको सबै सामग्री बिक्री भएको देख्दा उहाँ आप्mनो व्यवसायप्रति सन्तुष्ट छन् । बजार माग धान्नै नसकिने गरी बढेको छ भने स्थानीय उपभोक्ताहरु पनि ताजा र गुणस्तरीय पाउरोटी स्थानीय स्तरमै पाएर दङ्ग छन् । व्यवसाय बढेसँगै व्यवसाय र लेखा व्यवस्थापन गर्न आफूलाई थप सीपको आवश्यकता भएको उनी बताउछन् । लेखा व्यवस्थापनको अभावमा यति नै नाफा भयो भनी बताउन नसके पनि छिमेक लघुवित्तको मासिक किस्ता २४ हजार तिरी लगभग रु ३० हजार नाफा भएको छ । व्यवसायलाई अझै बढाउँदै लैजाने सोचमा रहेका पदमबहादुर गाउँपालिकासँग पनि उद्योग व्यवसाय प्रवद्र्धनमा थप सहयोगको अपेक्षा राख्छन् ।
हिउँदको समयमा अपेक्षित रुपमा पाउरोटी खपत हुन नसकेपछि खपाङ्गीको परिवारलाई व्यवसाय चलाउन हम्मे परिरहेको छ । गाउँमा सुरु भएको व्यवसाय निरन्तर चलाउन गाउँपालिकासँग उनले सहयोगको अपेक्षा राखेका छन् । गाउँपालिकाबाट सहयोगका लागि केही सहयोग प्राप्त हुन्छ कि भन्ने अपेक्षाले उनले सबै कागजात मिलाएर गाउँपालिकामा गत मङ्सिरमा निवेदन दिएका छन् । यस वर्ष सहयोगको कार्यक्रम नभएकाले अर्को वर्ष सहयोग उपलब्ध गराउने बचन उनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबाट पाएका छन् ।