२२ भाद्र २०८१, शनिबार

माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा


काठमाडौं उपत्यका

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला प्रशासन काठमाडौंले काठमाडौंमा मंसिर ७ गते हुन लागेका दुईवटा छुट्टाछुट्टै सम्मेलनलाई मध्यनजर गरेर निषेधित क्षेत्र थप गरेको हो । मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो ।

काठमाडौं जिप्रकाले दुवै समूहलाई माइतीघर मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा कार्यक्रम गर्न सुझाव समेत दिएको छ ।

माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !