९ जेष्ठ २०८१, बुधबार

तीन वर्ष अदालत धाउँदा पनि न्याय नपाएपछि रूँदै अनशन बसे प्रेम चलाउने


प्रेम चलाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन थालेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयपछि चलाउनेले अनशन थालेका हुन् ।

आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका हुन् । उनले देशमा न्याय मरेको बताउँदै आफूले न्याय नपाएको भन्दै न्यायका लागि आफू अनसनमा बस्नुपरेको स्पष्ट पारे ।

आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि सोको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौँ पुगेर नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका हुन् । तर पछि उनलाई प्रहरीले छोडेको थियो । प्रहरीले रिहा गरेसँगै उनले उपकुलपति कार्यालय पुगेर अनशन थालेका हुन् ।

ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो । उनले अदालतले पनि समयमा न्याय नदिएका कारण आफू अन्यायमा परेको बताएका छन् ।

उपप्राध्यापक चलाउनेले सरकारको मुद्दा फिर्ताको निर्णय नै खारेज हुनुपर्ने, अदालतमाथिको हस्ताक्षेप बन्द गर्नुपर्ने, आफूलाई न्याय दिनुपर्ने र नागरिकलाई अन्यायबाट प्रताडित बनाउन बन्द गर्नुपर्ने माग राखेका छन् ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले आक्रमण गरेको थियो । आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौँमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन रहेको जनाइएको छ ।

भोलि ५ गते उक्त मुद्दाको पेसी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको जानकारी पाएपछि मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गर्न उनी अदालत पुगेका थिए ।

यसरी तीन वर्ष न्यायको अदालत धाउँदा पनि अन्तिममा आएर न्याय पाउनुको सट्टा प्रहरीले पक्राउ गरेर छोडेपछि उपप्राध्यापक चलाउने रूँदै अनशन बसेका हुन् । उनले गुण्डाहरूले राज गरेको देश रहेछ भन्दै यहाँ न्याय पनि केही पाइँदो रहेनछ भन्दै सरकारले सत्य, न्याय, मानवता मारेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !