१० पुस २०८१, बुधबार

दक्षिण भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो


Nepalpatra

९ जेठ,  भारत । दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिनुभयो ।

मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्यु भएको छ भने दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।”

विगत २४ घण्टामा निपाको सङ्क्रमण भएका कुनै नयाँ विरामी अस्पतालमा आएको जानकारी छैन, उहाँले भन्नुभयो ।

मङगलबार बिहान प्राणघातक निपा भाइरसको सङ्क्रमण भै कोझिकोडे मेडिकल कलेज अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको थियो ।

मन्त्री सैलाजाले सोमबार दिएको जानकारी अनुसार निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताउनुभएको थियो । रोगको प्रकोपको समस्या अहिले नियन्त्रणमा आइसकेको र कुनै पनि निपा सङ्क्रमित रोगीको भारतीय सबै अस्पतालहरूमा उपचार गर्नेगरी व्यवस्था गरिएको उहाँले बताउँनुभयो ।

मुख्यमन्त्री पिनरायी भिजयनले पनि निपाको सङ्क्रमण भेटिएसँगै राज्य सरकारद्वारा निकटमा रहेर समस्याबारे अनुगमन गरिरहेको र यसलाई थप फैलिन नदिन आवश्यक कदम चालिसकेको बताउनुभयो ।

निपाको सङ्क्रमणको बिषयलाई साबधानीसाथ लिँदै संघीय सरकारका स्वास्थ्य मन्त्री जे पी नाडाले छ विशेषज्ञ चिकित्सक रहेको एक समूह बनाई निपाको प्रकोपबारे छानविन गर्न निर्देशन दिनुभएको छ । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !