२१ बैशाख २०८१, शुक्रबार

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत फेला


मृत

मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।

जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए ।

“विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा कपडा ओढाइएको छ”, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, “निरमायाको शव घरभित्रै छ तर काठको प्वालबाट घरभित्र हेर्दा उनको खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौँ ।”

मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !