१३ आश्विन २०८१, आइतबार

धनगढीमा निषेधाज्ञा : विद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रु ग्यास प्रहार


धनगढीमा निषेधाज्ञा

धनगढी । धनगढीमा आज कर्फ्यु तोडेर विद्यार्थीले आन्दोलन गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको छ भने प्रहरीले विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ ।

धनगढीमा ग्रेडरले किचेर आफ्ना सहकर्मीको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको बताए । सो क्रममा ९ जना विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको उनले बताए ।

यसैबीच न्यायको लागि भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै दमन गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । हिजो बिहीबार धनगढीमा ग्रेडरले किच्दा पञ्चोदय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीहरूले धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा हिजो बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !