१६ आश्विन २०८१, बुधबार

नेपाल र बेलायतबीच श्रम सम्झाैतामा हस्ताक्षर, नेपाली नर्सलाई पठाउने बाटाे खुल्याे


नेपाल र बेलायतबीच श्रम सम्झाैता

काठमाडौँ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र बेलायतबीच जीटुजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएसंगै नेपाली नर्सलाई बेलायत पठाउने बाटाे खुलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा श्रमसचिव अर्यालले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउन श्रम सम्झौता गरिएकाे बताए । श्रम सम्झौताअनुसार चाँडै परीक्षा गराएर नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने उनले जानकारी दिए ।

नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन नर्स, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता भएको हो । दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिएपछि आज हस्ताक्षर भएको हो ।

श्रम सम्झौतामा संख्या उल्लेख नगरे पनि पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने गरी सम्झौता गरिएको श्रम मन्त्रालयले जनाएको छ । रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !