८ बैशाख २०८१, शनिबार

संगीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि गरिने


ambar gurung antim sanskar

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधि अनुसार अन्तिम संस्कार गरिने भएको छ।

गुरुङका छोरा राजु गुरुङका अनुसार संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा हिन्दू र बौद्ध दुवै विधि अनुसार मंगलबार नै अन्तिम संस्कार गरिने छ।

भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको मंगलबार विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको हो। उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत थिए। यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो।

विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो। प्रवासमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गरे। उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए…’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो। विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए। उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भएका थिए।

‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले सङ्गीतबद्ध गरेका थिए। त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उहाँले सङ्गीत भरेकाे नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताए।

त्यसैगरी उनले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० गीतमा सङ्गीत भरेका थिए। उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए। जनजीवनमा उनलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो। सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भरेका थिए भने ६/७ सय गीत उनकै शब्द र स्वरमा रहेका छन्। रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !