१२ आश्विन २०८१, शनिबार

प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा


प्यान्डोरा पेपर्स

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज गरेको छ, प्यान्डोरा पेपर्स मार्फत ।

विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यसले गरेको छ ।

अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो ।

यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानूनी गतिविधि बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थव्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ ।

आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको खुलासा गरेको छ ।

प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । यसको अर्थ हो कर छली गरेको ठूलो रकम विदेशमा लुकाउने, अवैध तरिकाले कमाएको रकम विदेश पुर्‍याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ र त्यसलाई अधिकार सम्पन्न निकाय र राजनीतिज्ञको प्रत्यक्ष/परोक्ष संरक्षण छ ।

नेपालको कानूनले राष्ट्र बैंकको स्वीकृति विना नेपालीलाई विदेशमा लगानी गर्न रोकेको छ । त्यसैले नेपालीले विदेशमा लगानी गर्नु दण्डनीय अपराध हो ।

सहभागी मिडिया र पत्रकार

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी थिए ।

केलाइएका रेकर्ड

प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो । यसका लागि १ करोड १९ लाख भन्दा बढी दस्तावेज केलाइएको थियो ।

यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ । सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन् । तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन् । यो लिक्समा सन् १९७१ देखि २०१८ सम्म खोलिएका कम्पनीहरूको विवरण छ ।

आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो ।

नेपालमा खोज

नेपालमा यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकरसहित पाँच वटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिकको अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।

कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो ।

यो पनि पढ्नुहोस्

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

‘ट्याक्स हेभन’ मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारका सदस्यहरूको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !