१० पुस २०८१, बुधबार

फिल्मी शैलीमा पोखराबाट समातिए भारतीय सुटर


कार्तिक १९, कास्की | कास्की प्रहरीले शुक्रबार पोखरामा भारतीय सुटरहरु पक्राउ गरेको छ । सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जनाको समूहमा भारतीय नागरिक पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ३ जना भारतको राजस्थानमा आतंक मच्चाएका अपराधी हुन् । उनीहरुविरुद्ध असुलीदेखि हत्यासम्मको आरोपका दर्जनौं मुद्दा भारतमै दर्ता छन् । समातिएका ४ जनामध्ये ३ जना भारतीय हुन भने १ जना पोखराका हुन् । ती ३ जना भारतीय सुटरलाई ४ वटा हत्याको अरोप छ भने असुलीका मुद्दा २५ भन्दा धेरै ।
‘फिल्मी शैलीमा घटना भयो,’ सिद्धार्थ चोकका एक प्रत्यक्षदर्शीले भने, ‘दारी पालेका भारतीय नागरिक सामान किन्न आएका थिए । त्यत्तिकैमा केही मान्छे आएर उनीहरुलाई पेस्तोलदेखाएर समाते ।’ लुट्न आएको होला भनेर आफू डराएको उनले सुनाए ।३/४ जनाको समूहमा आएकामध्ये १ जना मोटो मान्छेले ती भारतीयलाई पेस्तोल देखाए,’ उनले भने, ‘त्यसपछि मान्छे भागाभाग भयो ।’त्यसपछि दुई वटा ट्याक्सीमा हालेर उनीहरुलाई लगिएको उनले बताए ।
भारतको राजस्थान प्रहरीले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई उनीहरुको बारेमा खबर गरेको थियो । त्यसपछि कास्की प्रहरीको सहयोगमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो । पोखरामा उनीहरु लुक्न आएको हो या कुनै योजना बनाएर आएको भन्ने खुलेको छैन ।‘प्राप्त प्रारम्भिक जानकारी अनुसार ती भारतीय अपराधी पोखरा आउने जाने गर्थे,’ स्रोतले भन्यो, ‘भारतीय प्रहरीले खोजी गर्दागर्दै यसपटक कास्की प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो ।’
पक्राउ परेका भारतीय अपराधीलाई काठमाडौं प्रहरीको सहयोगमा भारत प्रहरीलाई बुझाउने १ प्रहरी अधिकृतले बताए । ‘अहिले कास्की प्रहरीको हिरासतमा छन्,’ उनले भने, ‘काठमाडौंबाट प्रहरी आएपछि उनीहरुलाई भारत प्रहरीको जिम्मा लगाइन्छ ।’ पक्राउ परेको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले प्रतिक्रिया दिन चाहेनन् । ‘त्यस्तो कुनै व्यक्ति पक्राउ परेको छैन,’ एसपीले भने । विगतमा जस्तै पछिल्ला समय पनि भारतका अपराधीहरु घटना घटाएर नेपाल लुक्न आउँछन् । नेपाल प्रहरीको सहयोगमा त्यस्ता अपराधीलाई पक्राउ गरीभारत प्रहरीलाई जिम्मा लगाउँदै आएको छ । यद्यपि नेपाल र भारतबीच सुपुर्दगी सन्धि भएको छैन । बितेको भदौ २५ गते काठमाडौंमा यस्तै भारतीय सुटर पक्राउ परेका थिए ।
पटकपटक पक्राउ पर्दा नाम परिवर्तन गर्दै उम्केका भारत मोतिहारी रक्सौल–१ घर भएका बब्लु तिवारीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार बब्लुले भारतमा मात्र नभएर नेपालको सीमा क्षेत्रमा पनि उत्तिकै आतंक मच्चाएका थिए । केही महिनाअघि बब्लुले भैरहवाका उद्योगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरी हत्याको प्रयास गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !