भनिन्छ रिस हो मानिसको शत्रु, रिसैले सव नासिने, रिसैले उठ्छ झगडा, रिसैले सव भासिने । त्यसैले मानिसले रिसलाई नियन्त्रण गर्नु नै बुद्धिमानी मानिन्छ । रिस ज्यादै शक्तिशाली भाव हो । रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । रिसको झोंकमा धेरै कुटपिट, हिंसा र हत्या हुने गरेका छन् ।
कहिलेकाहीं त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई थाहा हुँदैन । रिसकै कारण घरमा कुटपिटका घटना हुन्छन् र कहिलेकाहीं सिकिस्त हुने गरी कुटपिट गर्ने, मट्टीतेल खन्याएर आगो लगाउने र कसैको ज्यानसमेत लिने प्रयास भइरहेको हुन्छ । त्यस्तै गरेर परिवारमा कलह, झगडा, अनमेल, पारपाचुके र केटाकेटीमा ज्यादै नकारात्मक भाव उत्पन्न हुने प्रमुख कारण पनि रिसाउने, झगडा गर्ने र कुटपिट गर्ने हो ।
रिस नियन्त्रण गर्ने उपायहरु
१. जब तपाइँलाई निकै रिस उठ्छ । तब १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्नुहोस । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्द्रित हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ ।
२. तपाइँलाई जे-जसका कारण पनि रिस उठेको हुनसक्छ । चाहे घरपरिवारका मान्छे, साथीसँगी तथा अन्य व्यक्तिसँग रिस उठेको किन नहोस् तपाइँ रिस उठेका मान्छेको नजिक नबस्नुहोस् र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस् ।
३. लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।
४. रिस के कारणले गर्दा उत्पन्न भएको हो ? त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइँ धेरै हदसम्म सफल हुनुहुनेछ । तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन । जब रिसको पारो अलिकति ओर्लिन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस् । यसका लागि तपाइँले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ । अनि त्यो कारण निवारण तर्फ लाग्नुहोस् ।
५. योगा तथा व्यायामले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यसले मानसिक शान्ति प्रदान गर्नुका साथै तनाव कम गर्न सघाउ पूराउँछ । ध्यान तथा योगाले व्यक्तिको सोँच्ने तरिका तथा परिस्थितिलाई झेल्ने क्षमताको विकाश गराउँछ र जसका कारण रिस नियन्त्रण गर्न सघाउ पुग्छ ।
६. अरुको गल्तीलाई माफ गर्न सिक्नुहोस् । कहिलेकाहीँ तपाइँको चित्त दुखाउने मानिसलाई माफी दिनसक्नु तपाइँको महानता हुन्छ । यसले तपाइँलाई मानसिक शान्ति प्रदान गर्छ र रिसको कारकतत्व पनि साम्य हुन्छ ।
७. रिस उठेको बेला तपाइँलाई जे काम गर्नमा आनन्द आउँछ त्यहीँ काम गर्नुहोस् । गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्नुभयो भने तपाइँको मूड परिवर्तन गर्न सघाउ पुग्नेछ र रिसको पारो तल ओर्लनेछ ।
८. रिससँग सामना गर्ने विभिन्न उपायहरू जस्तै : आरामका अभ्यासहरू, प्रकृतिसँग आनन्द मिल्ने ठाउँहरूमा चाडबाड, पूजापाठ, मन्दिर, सांस्कृतिक क्रियाकलापमा सहभागी हुने ।
९. खुसी, रमाइलो गरेको क्षणहरूलाई सम्झिने ।
१०. कुनै-कुनै बेला आफ्नो भूल, गल्ती, कमी कमजोरीलाई आफैंले क्षमा दिन सिक्नुस् ।
११. आफू तथा अरूलाई होच्याउने वा ठेस पुर्या्उने खालको बोली वचनको पहिचान गरी त्यसमा सुधार ल्याउनुहोस् ।
१२. रिस उठ्ने तत्त्वहरू के-के छन् आदि कुराको पहिचान गरिसक्नुभएको छ भने भरसक आफूलाई त्यसबाट टाढा राख्नुस् ।
१३. परिवार तथा आफ्नो मन मिल्ने साथीसँग मनमा लुकेका रिसका भावनाहरूलाई उसको सामुन्ने पोख्नुस् अर्थात् साझेदारी गर्नुस् ।
तपाई रिसले जङ्गिदा आफ्नै इज्जत घट्न सक्छ । रिसाउने बानीले गर्दा तपाईंबाट नजिकका मानिसहरू पनि टाढा हुन्छन् । रिसले पड्किनु भयो भने तपाईंले मानिसबाट पाइ रहनुभएको इज्जत पनि गुमाउनु हुनेछ । रिस पोख्ने बानी मानिसहरूलाई मनपर्दैन । यस्तो बानी भएको व्यक्तिसँग मानिसहरू डराउँछन् । भनिन्छ रिस गर्ने मानिसलाई कहिल्यै मित्र नबना, न त क्रोधी-स्वभावको मानिससँग सङ्गत गर् । झगडालु हुनुभन्दा रिसलाई नियन्त्रण गर्नु असल हो, शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो ।
अन्त्यमा भन्नुपर्दा कोहि-कोहि मानिसको बानी नै पनि हुन्छ की आफ्नो आंगको भैसी नदेख्ने तर अर्काको आंगको जुम्रा देख्ने । अझ कोहि मानिसमा त मानसिक रोग जस्तै हुन्छ की नारद जस्तो बानी नै अरुको असल र भलो नसोच्ने खाली कुरा मात्र काटेर बस्ने पुरै मस्तिस्क नै भ्रष्ट भई सकेको नकारात्मक कुराले । तसर्थ, रिसलाई नियन्त्रण गर्न आशावादी भई सकारात्मक सोचको विकास गर्नु जरुरी छ ।
*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्