१२ बैशाख २०८१, बुधबार

जहाँ इच्छा त्यहाँ उपाय भने झैँ समयको सहि सदुपयोग गरिरहेको छु – इन्जिनियर तथा गायक श्रेष्ठ


बिरेन्द्र श्रेष्ठ

इन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठ बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । उहाँले अर्मेनिया ईञ्जिनियरिङ्ग बिश्वबिद्यालयवाट ईलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंगमा स्नातकोतर तहको अध्ययन सकेर नेपाल फर्किनु भएको थियो । नेपाल बिद्युत प्राधिकरणबाट आफ्नो ब्यबसायिक जीवन शुरु गरेर सन् २००२ बाट इन्द्रावति तेश्रो जलबिद्युत आयोजनाको प्रमुख ईन्जिनियर हुदै उक्त कम्पनीको १० बर्षे यात्रामा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालेको अनुभबले थुप्रै आयोजनाको निर्माणको काममा आयोजना प्रमुख भई काम गर्दै हाल बिश्व बैंकले लगानी गरेको कावेली “ए” जलबिद्युत आयोजनाको प्रबन्धकको भूमिकामा कार्यरत हुनहुन्छ । आफ्नै लगानीमा निर्माणाधिन सुनकोशी ए, हाडीखोला साना जलबिद्युत आयोजनाको प्रमुख कार्यकारी निर्देशकको भूमिकामा रहेको र अन्य थप आयोजनाहरू pipeline मा रहेका छन् ।

इन्जिनियर भएर आफ्नो क्षेत्रका साथै सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठ पछिल्लो समयमा युवा पुस्ताहरुको मनमुटुमा बस्न सफल भई निकै लोकप्रिय गायकको रुपमा चिनिनु भएको छ । श्रेष्ठ नेपाली संगीत आकाशमा एउटा चम्किलो ताराको रूपमा वर्तमानमा उदाउनु भएको छ । ताप्लेजुङ्गको तत्कालीन सिनाम गाबिस पंचमीमा जन्मनुभएका श्रेष्ठ सानैदेखि संगीत क्षेत्रमा रुची भएका गायक हुन् । सन् २०११ वाट सांगीतिक क्षेत्रमा लाग्नुभएका गायक श्रेष्ठले झण्डै २५ वटा गीत गाई सक्नुभएको छ । उहाँको ईञ्जिनियरिङ्ग तथा सांगीतिक जीवनको सम्बन्धमा केन्द्रित रहेर नेपालपत्रका संवाददाताले गरेको कुराकानी ।

१. पछिल्लो समयमा तपाई निकै लोकप्रिय गायकको रुपमा चिनिनुहुन्छ र युवा पुस्ताहरुको मनमुटुमा बस्न सफल हुँदा कस्तो महसुस गर्नुभएको छ ?

धन्यबाद ! एकदमै राम्रो भनी दिनु भएकोमा । कसलाई रहर नहोला र आफ्नो कामको गुणगान अनि प्रशंसा पाउन एकदमै खुसी छु मेरो बाल्यकालको रहर यहांसम्म पुग्यो, हिजो ईन्जिनियर मात्र हुदाँ एउटा परिधिको ब्यक्तिहरुले मात्र चिन्नुहुन्थ्यो भने अहिले मेरो स्वर अनि नामले धेरैले चिन्नुहुन्छ । धेरै नै खुसी छु ढिलै भएनि मेरो रहरलाई जिवन्त बनाउन सफल भएकोमा अनि धेरै युवाले मलाई मन पराउनु हुदाँ । अहिले मेरो साथीहरुको बर्ग बिबिघता छ अनि युबाहरुले अक्सर मन् पराउछन । नेपाललाई एक सफल मुलुकमा परिणत गर्ने सपनाका साथ अनवरत काम गर्दै आएकोले नै होला यो जिम्मेवारी केवल युवाले मात्र सम्पन्न गर्न सक्ने सोच भएकोले मुलुकका युवाप्रति आघात आस्था रहेको छ मेरो।

२. तपाई इन्जिनियर भएर आफ्नो क्षेत्रका साथै सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ, दुई फरक क्षेत्रमा अगाडि बढ्न कसरी समय निकाल्न सक्नुहुन्छ ?

धेरै भन्दा धेरै मेरा शुभचिन्तकहरु र मेडियाहरुले सोघिने प्रश्न हो यो, जहाँ इच्छा त्यहाँ उपाय । मनले गरेका हरेक कर्महरुले सफलता सजिलै प्राप्त गर्दछ । सच्चा मनभित्र – उपाय, जोश र ज्ञान सबै हुने र सफलता यसकै परिधिभित्र रहेको हुँदा मलाई मनपरेका हरेक कर्महरु मनले गर्दछु । समयको सहि सदुपयोग नै जीवनमा सफलता प्राप्त गर्ने ठूलो कसी हो । शायद समयको सहि सदुपयोग अनि कर्मलाई मनले आत्मसाथ गर्ने भएकोले समय प्राप्त गर्न र प्राप्त समयबाट लक्ष्य हासिल गर्न सकिरहेको छु ।

३. तपाईलाई सांगीतिक क्षेत्रमा अगाडि बढ्न कसको प्रेरणाले मद्धत गर्यो ?

मेरा स्व. पिता टेक बहादुर श्रेष्ठले “रिटिङ्ग रिटिङ्ग नबजाउ बिनायो” भन्ने गीत अत्यघिक गाउनुहुन्थ्यो भने बाल्यावस्थामा गुरु सिंह बहादुर ईवाराम, मित्रहरु प्रेम बुढाथोकी, केशर प्रसाई, खेम लिङ्गदेन, उज्वल थेवेहरुले प्रेरित गर्नुहुन्थ्यो भने हाल आएर मित्रराज श्रेष्ठ, जग्गु कार्की, प्राराज लगायत घेरै साथीहरु लगायत परिवारको बिशेष सहयोग छ । नेपाल सांगितिक क्षेत्रका हस्तीहरु अम्बर गुरुङ्ग, शम्भु राई दाई, टिका भण्डारी दाई, दिपक शर्मा जी, शंकर थापा जी, श्रद्धेय गुरु बिनय बर्माज्यूसंगको सामिप्यता कै कारण एकपछि अर्को मिठाअनि मेरो स्वरलाई सुहाउने गीत गाउदै जाने क्रमले थप उत्साह अनि संगीतभित्र मलाई लिन बनाएको छ ।

४. सांगीतिक क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ ? तपाईको विचारमा संगीत के हो ?

नेपालकै बजारमा पनि सांगीतिक क्षेत्रभित्र आफ्नो क्षमताको सही पहिचान गरी तपश्या गरे सफलता निश्चित छ । साधारणतया नाम र दामलाई सफलताको कसी मान्ने गरिन्छ र यो दुबै सांगीतिक क्षेत्रबाट प्राप्त गर्न सकिन्छ । मानव मात्र नभई पशुपंक्षीलाई समेत संगीतले मोहित बनाउने भएकोले र संगीतको भाषा समेत सर्वज्ञ भएकोले संगीत एक सफल ब्यबसाय भित्र पर्दछ । मनको राग, द्वेश, कामुकता, मोह, प्रेम, बैराग्यता आदिहरु संगीतको सात शुरले समेट्ने भएकोले संगीत एक जीवन भएको मेरो बुझाई हो ।

५. तपाई सांगीतिक क्षेत्रमा लाग्नु भएको कति वर्ष भयो ? अहिलेसम्म कतिवटा गीत गाइ सक्नुभएको छ ?

करिव ४ बर्षको उमेरदेखि रेडियोबाट बच्चु कैलाश सरको गीत सुन्ने गरेको र देउसी भैलोको कार्यक्रममा लिड गायकको भुमिकामा रहेर गीत गाउन थालेदेखि नै आफुलाई सांगीतिक रसले छोपेको हो तर २०६८ सालमा मित्र राज कुमार श्रेष्ठ (दामी मिउजिकको प्रोप्राईटर) ले उहाँकै निवासमा डिजिटल रेकर्डिङ्ग मिडियाबाट अरुण थापा दाईको गीत जति माया लाए पनि भन्ने गित मेरो आवाजमा रेकर्ड गर्दा मेरो सहोदर माहिलो भाई खड्ग श्रेष्ठले मादल बजाएका थिए, उक्त गीत गाउदा मित्र राजले मेरो गीत गाउन सक्ने क्षमता रहेको उद्धघोष गर्नु भएपछि मेरो जीवनमा गीत गाउने भुत सवार भएको थियो ।

कार्य ब्यस्तता अनि आफुले नबुझेको बिषय भएर होला २०७१ सालको माघ महिनादेखि मात्र पूर्वको चर्चित गायिका देशु सुहाङ्गजीसंग सहकार्य गर्दै बुद्धि मोक्तानको शब्द, लोकप्रिय गायक तथा सफल संगितकार शंभु राई दाईको संगीत अनि नोर्बु शेर्पाको एरेन्जमा ”तिरमिर भयो आखाको ज्योती” भन्ने गीत रेकर्ड गरिएको थियो जुन गीतमा चर्चित मोडेल पल शाह र सुप्रिया कट्वालले अभिनय गर्नुभएको छ । यो गीतसंगसगै टंक सुब्बाको शब्द, टिका भण्डारी दाईको संगीत, कुमार थापाजीको एरेन्जमा “तिम्रो मनसंग आज”, गुरु बिनय वर्माको संगीतमा रहेको “माया लाग्छ निष्ठुरीको”, दिपक शर्माको शब्द संगीत, उदयराज पौडेलको एरेन्जमा बनेको गीत “घर हाम्रो लेकैमा” भन्ने गीतहरु सर्बाधिक मन पराईएका गीतहरु हुन् । श्रद्धेय दिदि अम्बिका गुरुङ्गको शब्द रचना, शंखर थापाको संगीत, उदयराजजीको एरेन्जमा बनेको “आँखा लाउछन्” भन्ने गीत मित्र संजय बरालको मुख्य निर्देशन राजीब समरले नृत्य निर्देशनमा सुप्रिया श्रेष्ठ र निपुन श्रेष्ठ अनि बाल कलाकार आयुष र अन्शु गुरागाईको बेजोड अभिनय गर्नुभएको छ । लिम्बु भाषामा निर्माण हुन लागिरहेको फिल्मको लागी “आन्देङ्ग आन्जुम्से” भन्ने गीतमा पाश्र्व गायन समेत गरिसकेको छु । लोक पप, लोक आधुनिक, रोमान्टिक, देशभक्ति, सेमी आईटम, क्लब टाईपका गरी झण्डै २५ वटा गीत गाईसकेको छु ।

६. यहाँको बाल्यकाल र सांगीतिक यात्रा कस्तो रह्यो ?

मेरो बाल्यकाल ताप्लेजुङ्ग जिल्लाको सिनामको पंचमी भन्ने ठाउँमा बितेको हो । पौडी खेल्न अत्यधिक रुचि रहेकोले फुर्सदमा कावेलीमा पौडी खेल्ने, फाटेको मोजाभित्र झुम्रो राखेर गोलो आकारको बल बनाएर डोरीको नेट बनाई भलिबल खेल्ने गरिन्थ्यो । बाल सखीहरु अमिट थेवे, खोमनाथ मिश्र, माधब मिश्र, कैलाश ईवाराम, डिल्ली, प्रेम, शान्तिराम, रामजी अधिकारी, शेर बुढाक्षेत्री, देउमान, तारा लिङ्गदेन, तोरण, रामहरु धेरै मिल्ने साथी हुन् । अरु पनि धेरै छन् नाम लिन नभ्याएकोमा माफी चहान्छु ।

हरन्दी प्राथामिक स्कुलको भवन निर्माणार्थ देउसी भैलो कार्यक्रम, नाग पंचमी, श्री पंचमी, भुमिराज बजारमा सामान्य नाचगान गर्ने चलन जस्तै भएको र मित्र खेम लिङ्गदेन हाल हङ्गकङ्ग, उज्वल थेवेहरुसंग (हाल जापानमा) बिशेष धेरै समयसगै बिताउने र शम्भु राई दाईको गीत अक्सर गाउने गरिन्थ्यो ।

७. तपाईको सांगीतिक क्षेत्रमा अगाडि बढिरहदा सम्झना लायक पल कुनै छ कि ?

बिश्वबिद्यालयको अध्ययनको क्रममा अर्मेनियाको स्वतन्त्रता दिवसको दिन लाइभ आर्केष्ट्रामा नारायण गोपालको गीत “मोहनी लाग्ला है” र डेनीले गाउनु भएको “हिउ भन्दा चिसो” गाएको थिए, त्यो प्रोगाम १५ वटा गणराज्यभित्र प्रतक्ष प्रशारण भएको थियो । “तिरमिर भयो” भन्ने गीत ८ पटकको पालामा मात्र टेक फाइनल भएको थियो । उक्त गीत अन्तिम पटक गाउदा यसै गीतका संगीतकार शंभु राई दाईले एउटा-एउटा शब्द मिलाउदै गाउनु लगाउनु भएको र करिब अढाई घण्टा लामो टेकमा शंभु दाई पसिनाले पुरै भिज्नु भएको थियो म बिचरोको के हालत भएको थियो आफै मुल्याङ्कन गर्नुहोला ।

८. तपाईको अनुभवमा नेपाली सांगीतिक क्षेत्रमा सफलता पाउन कतिको सहज छ ?

अथक मेहनतले मात्र सफलता प्राप्त हुन्न । RIGHT MAN IN RIGHT PLACE भनेझै यसको लागि स्वरको टोन, स्वरको पन्च, संगीत कपि गर्न सक्ने क्षमता छ भने र मिहेनत गर्न सक्ने क्षमता राख्दछ भने सफलता प्राप्त गर्न गाह्रो नपर्ला । नेपालमा समय ब्यतित हुदै जाँदा आफ्नो परिपक्वता ठान्ने समेत केही सोच भएकोले समय ब्यतित भई प्राप्त हुने अनुभव भन्दा आफ्नो आवश्यकता महशुस भई गरिएको लगानी पश्चातको परिपक्वता ठूलो हुने कुरामा दुईमत छैन ।

९. अहिलेसम्म संगीत क्षेत्रमा लागिरहदा कतिको सन्तुष्टि प्राप्त गर्नुभएको छ ?

सायद नेपालमा गीत संगीतमा लागेर म जति खुशी कोही छैन होला किनकी म कोहीसंग हार्न चाहन्न यानेकी जित्नु परेको नि छैन त्यसैले धैरै नै खुसी छु । संगीतलाई मैले माया मात्र गरेको हैन प्रेम छ यसप्रति ।

१०. तपाईको भावी सांगतिक योजनाको बारेमा बताई दिनुहोस् न ?

आफ्नो मुल पेशा जलबिद्युतको बिकाश रहेको र करिब २ दशकभन्दा लामोे जलबिद्युतको जागिरेयात्रा पश्चात आफै मुख्य प्रवर्द्धक रही काम गर्ने योजना बनाउदै गरेको हुँदा आगामी बर्षदेखि बार्षिक २ देखी ३ वटा मात्र गीत गाउने तर उत्कृष्ट गर्ने भन्ने छ मलाई, हेरौ गायकको रुपमा मलाई माया गर्ने महानुभावहरुले थप कति उर्जा प्रदान गर्नु हुनेछ ।

११. अन्त्यमा, नेपालपत्रवाट आमपाठकहरु र तपाईका श्रोताहरुलाई के भन्न चाहानुहुन्छ ?

नेपालपत्रले यस अघि प्रकाशन गरेको जीवनी समेत करिब २ लाख पटक पढिएको छ र ५ देखी १० हजार पटक दैनिक पढ्ने गरेको पाएको छु अत्यन्तै खुसी अनि आभारी छु नेपालपत्रको टिम र प्रधान सम्पादक गोपाल भण्डारीप्रति । संगीत तथा बिकास निर्माण दुबै हरेक मानब जीवनको अभिन्न अंग भएको र मैले त्यसैलाई आफ्नो जीवन ठानेको हुंदा आम पब्लिकको नजरमा अब सदैब परिरहन्छु भन्ने अपेक्षा राखेको छु । लिम्बु भाषामा निर्माण हुन लागी रहेको फिल्मको लागि “आन्देङ्ग आन्जुम्से” भन्ने गीतमा पाश्र्व गायन समेत गरिसकेको छु अनि मेरा धेरै गीतहरु धमाधम YOUTUBE CHANNEL बाट रिलिज गर्ने क्रममा छु केवल यहाँहरुको साथ र मायाको खांचो छ । धन्यबाद !

यो पनि पढ्नुहोस्  

बहुमुखी प्रतिभाका धनी इन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठको जीवन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !