गंगा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छ कि गंगाको पानी बिग्रिदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि इत्यादि। गंगा नदीमा ढल मिसिएका छन्, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि त्यसको पानीको प्रभावकारिता जस्ताको त्यस्तै छ।
खासमा गंगाको पानी कहिल्यै नबिग्रिनुको कारण भाइरस हो। त्यसमा केही यस्ता भाइरस पाइन्छन् जसले पानीलाई कुहिन दिदैनन् करिब सवा सय वर्ष पहिलेको कुरा हो। सन् १८९० को दशकमा प्रसिद्ध ब्रिटिश वैज्ञानिक अर्नेष्ट ह्यान्किनले गंगा नदीको पानीबारे अनुसन्धान गरिरहेका थिए। त्यसबेला हैजाको महामारी फैलिएको थियो। मान्छेहरुले शव गंगा नदीमै फालिरहेका थिए।
गंगा नदीमा नुहाउने मानिसहरु पनि हैजाको शिकार होलान् भन्ने डर ह्यान्किनमा थियो तर त्यस्तो भइरहेको थिएन। ह्यान्किन आश्चर्यमा थिए किनकि युरोपमा दूषित पानी खाँदा मान्छेहरु बिरामी भएको उनले देखेका थिए। तर गंगा नदीको पानीको प्रभाव देखेर उनी चकित थिए।
गंगा नदीको पानीमाथिको ह्यान्किनको अनुसन्धानलाई २० वर्षपछि एक फ्रान्सेली वैज्ञानिकले अगाडि बढाए। ती वैज्ञानिकले थप अनुसन्धान गरेपछि गंगाको पानीमा पाइने भाइरसले हैजा फैलाउने ब्याक्टेरियाभित्र छिरेर नष्ट गरिरहेको पत्ता लगाए। तिनै भाइरस गंगा नदीको पानीलाई शुद्ध बनाइराख्न जिम्मेवार थिए र त्यसैकारणले गंगा नदीमा नुहाउनेहरुमा हैजा फैलिरहेको थिएन।
त्यसको अर्थ ब्याक्टेरियामाथि राज गर्ने यी भाइरसहरु मानिसका लागि निकै सहयोगी साबित हुन सक्छन्। ती भाइरसलाई आजकल निन्जा भाइरस भनेर चिनिन्छ अर्थात् ती भाइरस जसले ब्याक्टेरियालाई मारिदिन्छन्।
बीबीसीबाट