१८ बैशाख २०८१, मंगलबार

उपत्यकामा अपराध बढ्यो, देशभर घट्यो


बाल यौन शोषण

काठमाडौँ, २४ साउन । काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७४/०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५/०७६ मा उक्त सङ्ख्या बढेर १० हजार १५९ मुद्दा दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढी हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बढ्दो जनसङ्ख्या र प्रहरीको सक्रियतासँगै उपत्यकामा अपराधको सङ्ख्या बढेको बताउनुहुन्छ ।

“आव २०७५/०७६ मा काठमाडौँमा आठ हजार ४६०, भक्तपुरमा ६७९ र ललितपुरमा एक हजार २० मुद्दा दर्ता भएको थियो”, उहाँ भन्नुहुन्छ । मुलुकको राजधानी काठमाडौँ उपत्यकामा देशभरका मानिस आएर बसोबास गर्ने ठाउँ भएकाले पनि यहाँ धेरै अपराध हुने गरेको उहाँको भनाइ छ ।

नेपाल प्रहरीले उपत्यकामा हुने अपराधलाई पत्ता लगाउन मुख्य त सिसिटिभीमार्फत अपराधी पत्ता लगाउँदै आएको छ । महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँमा १५, भक्तपुरमा तीन र ललितपुरमा तीन प्रहरी कार्यालयबाट मुद्दा चलाउने व्यवस्था गरिएको छ । उपत्यकाको सुरक्षाका लागि नेपाल प्रहरीले झण्डै १२ हजार जनशक्ति खटाएको छ ।

मुलुकभर अपराध घट्यो

काठमाडौँ उपत्यकामा विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा अपराधको सङ्ख्यामा वृद्धि भएपनि देशभर भने अपराधको सङ्ख्यामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७४/०७५ मा ३९ हजार ३१५ अपराधका मुद्दा दर्ता भएकामा आव २०७५/०७६ मा उक्त सङ्ख्या घटेर ३८ हजार ३८९ मुद्दा दर्ता भएको थियो ।

प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै देशभर अपराधको घटनामा कमी आएको बताउनुहुन्छ । “प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि अपराधका घटनामा कमी आएको छ”, उहाँ भन्नुहुन्छ ।

देशभर ७५ हजारको हाराहारीमा प्रहरी कर्मचारीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । जिल्लामा भने जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा चल्ने गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !