१५ बैशाख २०८१, शनिबार

पत्रकार कार्कीमाथि सांघातिक आक्रमण, घटनाप्रति महासंघ र युनियनद्वारा निन्दा


बनेपा, २१ भदौ । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आज बनेपामा साङ्घातिक आक्रमण भएको छ । बनेपा नगरपालिका वडा नं. ८ बसपार्कमा एक हार्डवेयर पसलमा सामान किनिरहेका बेला सूर्यविनायक नगरपालिका-१० का उद्धव कार्कीले एक्कासी मुक्का हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

पीडित कार्कीले आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा ठाडो निवेदन दिनुभएको छ । पीडितको निवेदनका आधारमा आक्रमण गर्ने उद्धवलाई प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो । आक्रमण गर्ने व्यक्ति काभ्रेपलाञ्चोकको साँंगास्थित नेपाल प्रहरी स्कूलका शिक्षकसमेत हुन् ।

नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले विज्ञप्ति जारी गर्दै पत्रकार कार्कीमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरी कानूनी कारवाही गर्न माग गरेको छ । घटनाको भत्र्सनाका साथ महासङ्घले दोषीमाथि कडा कारवाहीको माग गर्दै घाइते कार्कीको तत्काल उपचार र क्षतिपूर्तिसमेत सम्बन्धित व्यक्तिबाट भराइदिन प्रशासनसमक्ष माग गरेको छ । यसैबीच नेपाल प्रेस युनियन जिल्ला शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

आक्रमणप्रति नेपाल पत्रकार महासंघद्वारा निन्दा

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले राससका वरिष्ठ समाचारदाता कार्कीमाथि आज भएको भौतिक आक्रमणप्रति निन्दा गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी महासङ्घ काभ्रे शाखाका सदस्य समेत रहनुभएका कार्कीलाई सूर्यविनायक-१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकका रुपमा कार्यरत उद्धवले कुटपिट गरी घाइते बनाएको घटनाप्रति निन्दा गरेको हो ।

महासङ्घले पत्रकारलाई त्रसित बनाउने आपराधिक कार्यमा संलग्न कार्कीमाथि कानूनी कारवाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्बाधरुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । साथै, महासङ्घले घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासङ्घ केन्द्रद्वारा निन्दा

आक्रमणप्रति नेपाल प्रेस युनियनद्वारा निन्दा

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल प्रेस युनियनले निन्दा गर्दै गम्भिर ध्यानाकर्षण भएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक प्रेस बिज्ञप्ति जारी गर्दै बताएका छन् ।

कार्कीलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल प्रहरी स्कुल साँगामा कार्यरत उद्धव कार्कीले आक्रमण गरेका थिए । आइतवार विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउमा रहेको चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामग्री किनिरहेको अवस्थामा एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले प्रहार गर्दा कार्कीको टाउकोमा चोट लागेको छ ।

आक्रमणबाट बचाउन सोहि स्थानमा रहेका व्यक्तिहरुले प्रयास गर्दा पनि निरन्तर आक्रमण गरी घाईते बनाइएको सो घटनाको युनियन घोर भत्सर्ना गर्दछ । आक्रमणमा प्रहरी विद्यालयमा कार्यरत उद्धव कार्की प्रत्यक्ष संलग्न हुनुले घटना प्रहरी बलको आडमा भएको देखिएको युनियनले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रेस युनियन सांघातिक आक्रमण गर्ने उद्धव कार्कीलाई नियन्त्रणमा लिई कडा भन्दा कडा कार्बाहीको लागि स्थानिय प्रशासनसँग माग गर्दै स्थानिय अस्पतालमा उपचार गराईरहेका केन्द्रीय सदस्य राजाराम कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना पनि युनियनले जारी गरेको छ ।

आक्रमणप्रति नेपाल प्रेस युनियनद्वारा निन्दा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !