७ बैशाख २०८१, शुक्रबार

प्राकृतिक प्रकोपका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने


डा. युवराज खतिवडा

काठमाडौँ, साउन ६ । नेपाल सरकारले बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका घाइतेको उपचार बेहोर्ने भएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले घाइतेको उपचार खर्च र अपांगता भएकालाई यथोचित प्रबन्ध गर्ने निर्णय गरेको हो । प्राकृतिक प्रकोपबाट क्षतिको विवरण संकलन भइरहेको र सरकारले त्यसैका आधारमा राहत दिने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने, घाइतेहरूको उपचारमा कुनै कमीकमजोरी हुन नदिने र घाइते भई अपांग तथा अशक्त हुनेहरू र मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको समन्वयमा विपद्‌बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्न, मूल्यांकन गर्ने, तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसेकपछि पुन:स्थापना तथा पुन:निर्माणलगायतका आवश्यक विषयका लागि व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बाढी र पहिलो प्रभावित क्षेत्रमा यातायत, विद्युत्, खानेपानी लगायतका सेवा सुविधालाई पुनर्स्थापना गर्नका लागि रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय गरेर आवश्यक कदम चाल्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्री डा. खतिवडाका अनुसार बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा संक्रामक रोगहरू फैलिन नदिनका लागि आवश्यक सतर्कता अपनाउन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने पनि सरकारले निर्णय गरेको जानकरी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !