७ असार २०८१, शुक्रबार

दिमाग स्वस्थ राख्न ध्यान दिनुपर्ने कुराहरु


healthy brain healthy brain

हाम्रो मस्तिष्क (दिमाग) र शरीरबीच गहन सम्वन्ध छ । मस्तिष्क कमाण्डर इन चिफ हो भने शरीरका अन्य अंग उसको निर्देशनमा काम गर्ने सिपाहीहरु । शरीर गाडी हो भने मस्तिष्क चालक या भनौं शरीर हवाइजहाज हो भने मस्तिष्क यसको पाइलट । स्वाभाविक छ मस्तिष्क जति राम्रो भयो, जति स्वस्थ भयो र जति राम्रोसँग काम गर्न सक्यो त्यति नै शरीरले राम्रोसंग काम गर्न सक्छ । मस्तिष्क नै स्वस्थ छैन भने शरीरले आफैं केही गर्न सक्दैन, तसर्थ मस्तिष्कलाई कसरी स्वस्थ राख्ने भने कुरा धेरै नै महत्वपूर्ण छ ।
हुन त मस्तिष्क र शरीरलाई छुट्याएर हेर्नै मिल्दैन तर हामीहरुले शरीरलाई त विभिन्न प्रविधिहरु अपनाएर स्वस्थ राख्न चाहन्छौँ, राम्रो देखिन खोज्छौं र अनेक तरिकाहरु अपनाएर आफूलाई स्मार्ट देखाउन खोज्छौं तर त्यसको लागि हाम्रो मस्तिष्क स्वस्थ हुनुपर्छ भन्ने कुरा बिर्सीरहेका छौं ।
मस्तिष्कसँग हाम्रो मनको अवस्था गाँसिएको हुन्छ । मस्तिष्क स्वस्थ भए मात्र हाम्रो मन स्वस्थ रहन्छ । मस्तिष्कमा धेरै किसिमका रसायनहरु हुन्छन् जसलाई न्युरोट्रान्समिटर भनिन्छ । केही महत्वपूर्ण न्युरोट्रान्समिटरहरुमा डोपामिन, सेरोटोनिन, नरइपिनेफ्रिन, इन्डोरफिन्स र गामा अमाइनो वुटारिक एसिड आदि हुन्छन् । मस्तिष्कले राम्रो गरी काम गर्नको लागि यी न्युरोट्रान्समिटरहरुको धेरै महत्वपूर्ण योगदान हुन्छ र यिनीहरुको कमी नहोस्, यिनीहरुले राम्रोसँग काम गर्न सकुन् भन्नेतर्फ पनि हामीले विशेष ध्यान दिनु पर्छ ।
मस्तिष्क स्वस्थ हुनु कत्तिको महत्वपूर्ण छ भन्ने कुरा केही विरामीहरुको उदाहरण दिँदा अझ प्रष्ट हुनेछ।
(१) इनसेफालाइटिस – नेपालमा हरेक वर्ष जसो जापानिज इनसेफालाइटिसका कारण धेरै जना बिरामी हुने र कति जनाको ज्यान जाने कुरा हामीले सुनेका छौं । इनसेफालाइटिस मस्तिष्कमा हुने एक प्रकारको भाइरल इन्फेक्सन हो । यो रोग निको भएपनि बिरामीको मानसिक अवस्था धेरै कमजोर गरिदिन्छ ।
(२) मस्तिष्कको चोटपटक – टाउकोमा चोटपटक लाग्दा मस्तिष्कमा असर पर्न सक्छ र गहिरो चोटपटक लागेमा मस्तिष्कले राम्रो काम गर्न सक्दैन ।
(३) मस्तिष्क आघात – विभिन्न रोगहरुका कारण मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध भएर मस्तिष्कमा आघात भयो भन्ने शरीरको एक हर नचल्ने, बोली बन्द हुने आदि हुन्छ र मानिस ज्यादै अशक्त हुन्छ ।
माथिका यी केही उदाहरणहरुले मस्तिष्कलाई स्वस्थ राख्नु कत्तिको महत्वपूर्ण छ भन्ने बारे प्रष्ट पार्छन् । हुन त मस्तिष्कलाई असर पार्ने त्यस्ता रोगहरु अनगिन्ती छन् तर यहाँ मस्तिष्कलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरा बढी महत्वपूर्ण भएकाले रोगहरुवारे बढी चर्चा नगरौं ।
मस्तिष्क हाम्रो कमाण्डर इन चिफ हो भन्ने कुरा पहिले उल्लेख गरिएको छ । विचार गर्ने, कुन कुरा गर्दा राम्रो हुन्छ र के गर्दा राम्रो हुँदैन भन्ने सोचेर निर्णय लिने, राम्रा वा नराम्रा कुराहरुको अनुभव गर्ने, पढेको कुरा संझिने, सिप सिक्ने र आफुले सिकेको सिप शरीरको माध्यमबाट उपयोग गर्ने, माया प्रेम गर्ने, यो कुरा खानु राम्रो हुन्छ, यस्तो खाद्य खानु हुदैन भनेर निर्णय गर्ने सारा काम हाम्रो मस्तिष्कले नै गर्छ ।
चुरोट पिउनु, सुर्ती सेवन गर्नु, अत्यधिक मदिरा सेवन गर्नु हुन्छ वा हुँदैन भनेर निर्णय लिने काम पनि मस्तिष्ककै हो । शरीर र मस्तिष्कलाई हानी गर्छन् भन्ने कुरा जान्दा जान्दै पनि जसले हानीकारक पदार्थको सेवन गर्दछन् तिनीहरुको मस्तिष्क स्वस्थ छैन भन्न सकिन्छ । आफ्नै स्वास्थ्यलाई खराब गर्ने पदार्थहरु खानु वा पिउनु, रोग निम्त्याउनु र आयु घटाउनुलाई कदापी राम्रो मान्न सकिदैन । तर मस्तिष्क नै स्वस्थ छैन भने उसले गलत निर्णय लिन सक्छ र गलत निर्णको परिणाम भोग्छ पनि ।
नियमित शारीरिक व्यायामले खाना पचाउन, मोटोपन घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न, मुटुसम्वन्धि विभिन्न रोगहरुबाट बच्न, मानसिक तनाव, चिन्तारोग र डिप्रेसनवाट बच्न समेत सहयोग गर्छ । यतिका फाइदा हुने कुराहरुका लागि पनि शारीरिक व्यायाम यदि कसैले गर्दैन भने त्यस्तालाई के भन्ने ? मस्तिष्कले गर्छु भन्ने अठोट लिन नसकेर यस्तो भएको हो भने उनको मस्तिष्क स्वस्थ छ भन्ने कि छैन भन्ने ? स्वस्थ मस्तिष्कले जहिले पनि राम्रो र ठिक निर्णय लिन्छ ।
उदाहरणको लागि हाम्रो मस्तिष्क टाउको भित्र सुरक्षित किसिमले रहेको छ तर कुनै मोटरसाइकल र स्कूटर चलाउने युवा युवतीहरुले हेलमेट नलगाइ अनियन्त्रित किसिमले वाहन हाक्दा दुर्घटना हुने संभावना धेरै हुन्छ । हेलमेट टाउकोलाई सुरक्षित राख्न वा मस्तिष्कलाई वचाउनको लागि लगाउने हो तर कति युवकहरुले हेलमेट लगाउन लापरवाही गर्दा आफ्नो ज्यान गुमाएका छन् वा मस्तिष्कमा गहिरो चोट लागेर अपरेशन गर्नुपर्ने, मस्तिष्कको केहि भाग फाल्नुपर्ने अवस्थामा पुगेका छन । एक पटक गहिरो चोट लागेको मस्तिष्क पहिले जस्तो हुन सक्दैन र मस्तिष्कमा चोट पटक नलागोस् भनेर सवैजना सतर्क त हुनै पर्छ ।
त्यस्तै गरेर लागु पदार्थ दुव्र्यसन र अत्यधिक मदिरापानले पनि मस्तिष्कमा नराम्रो असर पार्दछ र मस्तिष्कले जसरी काम गर्नु पर्ने हो गर्न सक्दैन । अर्थात राम्रो विचार र सहि निर्णय लिन सक्दैन । अत्यधिक रक्सि पिउनु र रक्सि पिएर मोटरसाइकल वा गाडी चलाउनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै त्यसो गर्नु गलत निर्णय हो । निर्णय लिने काम मस्तिष्कको हो र मस्तिष्क स्वस्थ छ भने त्यस्तो गलत निर्णय कहिले पनि लिँदैन ।
त्यस्तै गरेर नियमित व्यायाम गर्नु शरीर र मस्तिष्क दुवैलाई फाइदाजनक छ । शारीरिक व्यायाम, योगा तथा मेडिटेसनले स्वास्थ्यलाई राम्रो गर्दछ । जसले यस्तो अभ्यास नियमित गर्नुहुन्छ, उहाँहरुको मस्तिष्कले ठिक निर्णय लिएको छ अर्थात् उहाँहरुको मस्तिष्क स्वस्थ छ । तर जसले स्वास्थ्यलाई राम्रो गर्ने कुराहरुको अभ्यास गर्नु हुन्न वहाँहरुको मस्तिष्कले ठिक निर्णय लिएको छैन ।
नियमित शारीरिक व्यायामले खाना पचाउन, मोटोपन घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न, मुटु सम्वन्धि विभिन्न रोगहरुबाट बच्न, मानसिक तनाव, चिन्तारोग र डिप्रेसनवाट बच्न समेत सहयोग गर्छ । यतिका फाइदा हुने कुराहरुका लागि पनि शारीरिक व्यायाम यदि कसैले गर्दैन भने त्यस्तालाई के भन्ने ? मस्तिष्कले गर्छु भन्ने अठोट लिन नसकेर यस्तो भएको हो भने उनको मस्तिष्क स्वस्थ छ भन्ने कि छैन भन्ने ? स्वस्थ मस्तिष्कले जहिले पनि राम्रो र ठिक निर्णय लिन्छ ।
त्यस्तै गरेर आफ्नो उचाई अनुसारको वजनलाई ठिक्क मानिन्छ र त्यो भन्दा जति वढी वजन भयो त्यति नराम्रो मानिन्छ किनकि उच्च रक्तचाप ( मधुमेह, केहि मुटुरोगहरु, कम्मर तथा घुडा दुख्ने समस्याहरु आदि मोटोपनाको ख्याल नगर्ने, खानामा नियन्त्रण गर्न नसक्ने, आफ्नो वजन घटाउने प्रयास नगर्ने कुरा पनि मस्तिष्कले सहि निर्णय लिन नसकेर हो किनकि मस्तिष्क स्वास्थ्य भएर ठिक निर्णय लिने भनेको नै शरीरलाई सकभर स्वस्थ राख्ने निर्णय पनि हो ।
कुनै व्यक्ति धेरै मानसिक तनाव छ भने उसको हाउभाउ, अनुहार, बोलीचाली कस्तो होला ? कुनै व्यत्तिलाई चिन्ता रोग छ भने कस्तो कुराकानी गर्छन् होला, कस्तो व्यवहार देखाउछन् होला ? कसैलाई डिप्रेसन रोग लागेको छ भने के कस्ता लक्षणहरु देखिन्छन् होला ? माथि उल्लेखित मानसिक तनाव, चिन्तारोग तथा डिप्रेसन मस्तिष्कका समस्याहरु हुन् । स्वस्थ्य मस्तिष्कले मानसिक तनावको राम्रो व्यवस्थापन गर्न सक्दछ, चिन्तारोग र डिप्रेसनवाट वचाउन सक्छ । चिन्ता रोग र डिप्रेसनमा मस्तिष्क स्वस्थ हुँदैन ।
अनुहारलाई शरीर र मन भित्र के भइरहेको छ त्यो देखाउने ऐना पनि भनिन्छ । यस्ता समस्याहरु भएका व्यक्तिमा उनीहरुको अनुहारले नै त्यस्तो झलक दिएको हुन्छ, आखिर ऐना हो भने भएको कुराको केहि झलक त दिने नै भो, जति लुकाउछु भने पनि लुकाउन सकिदैन । त्यसैले अनुहार राम्रो देखिनको लागि, शरीरमा स्फूर्ति हुनको लागि, राम्रो निद्राको लागि र ठिक भोक लाग्नको लागि पनि मस्तिष्क स्वस्थ्य हुनु पर्ने रहेछ भन्ने कुरा स्वतः प्रष्ट हुन्छ ।
चिन्ता रोग र डिप्रेसन रोग लाग्दा मानिसहरु चुरोट पिएर, रक्सि पिएर वा विभिन्न प्रकारका लागु औषधीहरुको प्रयोग गरेर रोग कम गराउने प्रयास गर्दछन् तर यस्ता पदार्थहरुले रोग कम गर्ने होइन उल्टै बढाउँछन् । चिन्ता रोगमा मन आत्तिने, डराउने र छटपटी हुने हुन्छ भने डिप्रेसनमा मन उदास हुने, कुनै कुरामा चाख नलाग्ने र नकारात्मक सोचाइहरु मात्र आउने हुन्छन् । यस्ता व्यक्तिहरुको अनुहारमा निराशापन, शरीरमा स्फूर्तिको अभाव, निद्रा, भोक आदिमा कमी देखिन्छ ।
हाम्रो मस्तिष्कको वजन १२५० ग्राम अर्थात् एक किलो भन्दा थोरै बढी हुन्छ । यसले हामीले खाएको खानाको २५ प्रतिशत जति क्यालोरी उपयोग गर्छ । हामीले साँस फेर्दा लिएको २० प्रतिशत अक्सिजन पनि मस्तिष्कले उपयोग गर्दछ । अक्सिजन र क्यालोरी रक्तसंचारको माध्यमवाट मस्तिष्कमा पुग्छ । शरीरमा जाने रक्तसंचारको अन्दाजी २५ प्रतिशत मस्तिष्कले नै उपयोग गर्दछ । अर्थात शरीरको तुलनामा मस्तिष्क निकै सानो भएता पनि २५ प्रतिशत इनर्जी, २० प्रतिशत अक्सिजन र २५ प्रतिशत रक्त संचार मस्तिष्कको लागि आवश्यक पर्छ ।
मस्तिष्क कति शक्तिशाली छ भनेर धेरै अध्ययन भएता पनि एकिन गरेर कसैले भन्न सकेका छैनन् । मस्तिष्कको शक्ति अथाह छ भन्न सम्म सकिन्छ । अलवर्ट आइन्सटाइन जस्ता विश्व प्रख्यात वैज्ञानिकले करिव १२ प्रतिशत मस्तिष्कको उपयोग गरेका थिए भन्ने अनुमान छ । सामान्य मानिसहरुले करिव ५ प्रतिशत र अन्यले १० प्रतिशत भन्दा कमै मस्तिष्कको शक्तिको उपयोग गरेका होलान । मानिसले वनाएको सुपर कम्प्यूटरको शक्ति र गति कति छ त्यो हेर्दा मस्तिष्कको शक्ति कति होला अनुमान गर्नै मुश्किल छ र जति वढी अनुमान गरे पनि कमै हुने छ जस्तो लाग्छ । मानिसको वुद्धि, वोलीचाली, चालचलन, व्यवहार, मायाप्रेम, सिर्जनशिलता, उत्पादनशिलता, अन्वेषणहरु, संगित, कला, विज्ञान आदि सवै मस्तिष्कमै भर पर्ने कुराहरु हुन । त्यसैले मस्तिष्कलाई चोटपटक लाग्नवाट जोगाउनु र यसलाई स्वस्थ राख्नु महत्वपूर्ण छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !