के हो मधुमेह ?
कुनै समयमा मधुमेह बुढाबुढी र धनीलाई मात्र लाग्ने रोगका रूपमा चिनिन्थ्यो । तर यो रोग युवादेखि वृद्धवृद्धासम्म, धनीदेखि गरिबसम्म सबैलाई लाग्ने रोग भइसकेको छ । पश्चिमा संस्कृतिको प्रभावले बदलिएको जीवनशैलीका कारण यो रोगबाट युवाहरू पनि प्रभावित हुन थालेका छन् । शारीरिक निष्क्रियता, मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव लगायतका कारण पछिल्लो समय नेपालमा मधुमेहका रोगीको संख्या ह्वात्तै बढेको छ ।
मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज भनिन्छ भने सामान्य भाषामा चिनीरोग भन्ने गरिन्छ । मधुमेह रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ । मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका कोशिकाहरू भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन थाल्छ । यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ । यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढेको हुन्छ भने कोशिकामा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ ।
मधुमेहका लक्षणहरु
१. छिटो छिटो पिसाव लाग्ने र बढी तिर्खा लाग्ने
२. बढि भोक लाग्ने , आखा तिरमिराउने
३. शरिरको वजन घट्ने , कमजोरी, आलस्य र थकान महसुस हुने
४. वाकवाकी लाग्ने, मुख सुख्खा हुनु,
५. लामो समयसम्म चोटपटक निको नहुने
५. हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु
बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर २०० मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्राम भन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८–१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।