१२ असोज, घोराह । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको राप्ती उपक्षेत्रीय अस्पताल आज औपचारिक रुपमा हस्तान्तरण भएको छ ।
स्वास्थ्य मन्त्रालयको केन्द्रीय प्रतिनिधिको उपस्थितिमा उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा जनार्दन पन्थीले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलाई अस्पतालको सम्पत्ति र दायित्वसहित अस्पताल हस्तान्तरण गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति भण्डारी, रजिस्टार रामप्रसाद प्याकुरेल र निर्देशक रीतु बरालले अस्पताल हस्तान्तरणको पत्र बुझ्दै अस्पतालको सेवा बढाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले पैसा नभएकै कारणले उपचार नपाएर कोही फर्कन नपर्ने बताउनुभयो । (रासस)