१२ पुस २०८१, शुक्रबार

डाइलायसिस यन्त्र हस्तान्तरण


Nepalpatra

१० साउन, चितवन । चितवनको रत्ननगर बकुलहर अस्पताललाई रोटरी क्लबले तीन थान हेमो डाइलायसिस मेसिन हस्तान्तरण गरेको छ ।

विगत चार वर्षदेखि मिर्गौला रोगीका लागि डाइलायसिस सेवा दिँदै आएको रतननगर बकुलहर अस्पतालको सेवा प्रभावकारी बनाउन तीन वटा डाइलायसिस मेसिन उपलव्ध गराइएको रत्ननगरका रोटरियन राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रु ३८ लाखभन्दा बढीको लागतमा रोटरी डिष्ट्रिक २८२० जापानको साझेदारीमा रोटरी ग्लोबल ग्रान्ट परियोजनामार्फत मेसिन उपलब्ध गराइएको हो । यहाँको नारायणगढ, रत्ननगर, नारायणी मिड टाउन, भरतपुर, गैँडाकोटका रोटरी क्लबको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

यसअघि यहाँ छ वटा डाइलायसिस मेसिन रहेकोमा बुधबार थप तीनवटा आएपछि अब भने मिर्गौला रोगीका लागि डाइलायसिस सेवा प्रभावकारी हुने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार रत्ननगरमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले रोटरी क्लबसँगको सहकार्यमा विकास र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले रत्ननगर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा ध्यान केन्द्रित गरेको भन्दै हरेक क्षेत्रबाट यस्तै सहयोगको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र काठमाडौँका चिकित्सक डा ऋषि काफ्लेले रोग लाग्नुभन्दा लाग्नै नदिनका लागि चेतनामूलक कार्यक्रम जरुरी रहेको भन्दै रोटरी क्लबमार्फत अभियान चल्ने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७२ मंसिर २० गतेबाट यहाँ मिर्गौला रोग उपचार केन्द्रको सहयोगमा डाइलायसिस सेवा शुरु भएको थियो । अहिलेसम्म सयौँ बिरामीको छ हजारभन्दा बढी पटक उक्त अस्पतालले डायलायसिस सेवा प्रदान गरिसकेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !