१० पुस २०८१, बुधबार

हर्टअट्याक हुने कारण र जोगिने तरिका


hartrack

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको वीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ।

हर्टअट्याक हुने ८ कारण:
उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ ।

धुम्रपान
धुम्रपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ ।

उच्च रक्तचाप
उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढि हुन्छ ।

मधुमेह
मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखी मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ ।

मोटोपना
मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ ।

वंशाणुगत
परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ ।

अत्याधिक मदिरा सेवन
नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ ।

मानसिक तनाव
मानसिक तनाव वा डिप्रसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

  • शरीरको तौल नियन्त्रण गर्ने ।
  • सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ ।
  • स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमित रुपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाईन्छ । गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ ।
  • खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।
  • ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् । ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ ।
  • तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ ।
  • भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ ।
  • दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ ।
  • महिलाले दिनमा एक ड्रिंक रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पु¥याउँछ ।
  • गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ ।
  • काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ ।
  • कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।
  • यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ ।
  • शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।
  • शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !