२३ बैशाख २०८१, आइतबार

डा. सन्दुक रुइतलाई गृह जिल्लामा अभिनन्दन


डा. सन्दुक रुइत

ताप्लेजुङ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।

ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात हुन् । यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उहाँलाई अभिनन्दन गरिएको हो ।

मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका डा रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याइरहेका छन् । यहाँ आयोजित शिविरमा उहाँ नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो ।

कार्यक्रममा डा रुइतले नेपाल नेत्र ज्योति सङ्घ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानपनप्रति आभार व्यक्त गरे । गृह जिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने उहाँले प्रतिबद्धता जनाए ।

निःशुल्क आँखा शिविरले जीवनमा उज्यालो

झण्डै तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५, का ५५ वर्षीय बमप्रसाद योङहाङ र उनको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाविन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाएका योङहाङ पुनः उज्यालो जीवनमा फर्किएपछि खुशियाली छाएको हो । योङहाङको दुवै आँखाको शल्यक्रिया भएको थियो ।

फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी हुनुहुन्छ । केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी उहाँले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भएका हुन् । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र उनको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएका हुन् ।

ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाविन्दुका कारण ज्योति गुमाएका एक सय ५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । नेत्र ज्योति सङ्घले फुङलिङ नगरपालिका र सेवा फाउण्डेशनसँगको सहकार्यमा तथा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शिविर सञ्चालन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !