११ श्रावण २०८१, शुक्रबार

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत


मोहनबहादुर बस्नेत

पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताएका छन् । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भने ।

“आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ । यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछु”, मन्त्री बस्नेतले भने ।

उनले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरुन्तै प्रभावकारी सेवा प्रदान गर्नका लागि बनेको एउटा समूह भएको बताउँदै यो समूह समयमै समन्वय गरेर आपत्कालीन अवस्था ज्यान जोगाउनका लागि क्रियाशील हुनुपर्छ भने ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभर २५ अस्पताल ‘हब स्याटेलाइट’ आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको बताए । उनले अस्पतालको मापदण्डअनुसार आकस्मिक योजना हुनुपर्ने बताए ।

गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्यायले आकस्मिक चिकित्सकीय समूह ‘इएमटी’ लाई कार्यान्वयनको चरणमा लैजान कार्यशालाको आयोजना गरिएको जनाउँदै पूर्वतयारीका कार्यलाई समेत लिएर दुई दिने छलफल गरिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !