१६ असोज, काठमाडौं । तराई मधेशमा आजदेखि धार्मिक विधिअनुसार जितिया पर्व सुरु भएको छ । बिशेषगरी विवाहित हिन्दु नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ ।
तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ ।
नहाय खाने वर्तका दिन वर्तालु महिलाहरुले स्थानीय जलासयमा गएर स्नान गरी घिरौंलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पुजा गर्ने गरिन्छ । यस पर्वमा नहाय खायको दिन अनिवार्य रुपमा वर्तालु महिलाहरुलाई माछा तथा मरुवाको रोटी खाने चलन छ ।
विशेषत तरार्इ र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो ।
व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ। देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाख सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठ गन सम्पन्न गर्नु पर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बचाउँछन् । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिंवगत पितृलाई पिण्ड चढाउँछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिव्रो टोके भने व्रत असल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खद जितिया पनि भनिन्छ। फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन् ।
थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी अनि चितवनका महिलाहरुले तिनदिनसम्म महत्वका साथ जितिया मनाउँदछन् । भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्दछन् । पारम्परीक गीत, सङ्गीतका साथमा नाचगान सहित जितिया पर्व मनाइन्छ ।
प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समूदायले जितियामा नाच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यस समूदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ जसलार्इ ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परीक विशेष गीत छ जसलार्इ ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनी सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।
थारु समूदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरु उखेलेर गाउँको बिचमा गाईको गोबरले लिपेर राखिन्छ, यसरी लिपेर तयार पारिएको ठाँउलाई ‘थाट’ भनिन्छ । बहुभाषीक अनि बहुसंस्कृतियूक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समूदाय, भाषा अनि संस्कृति मान्नेहरुलाई एकैथलोमा भेला पार्दछ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।