१५ बैशाख २०८१, शनिबार

संघीयता मुलुकले धान्न सक्दैन : प्रधानमन्त्री ओली


Kp Oli

असार २४, २०७३- सरकार परिवर्तनको लागि अनेक प्रयास र टिप्पणी चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने २०७४ माघ ७ सम्म यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् ।

सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले धुलिखेल लज रिसोर्टमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणामपछि मात्रै सरकार हट्ने दाबी गरे । ‘रुपान्तरित संसदको म्याद नै ०७४ माघ ७ गते सम्म हो, हामी सधै रहन्छौं भन्ने हैन,’ उनले भने, ‘यही सरकारले चुनाव गराउाछ र परिणाम अनुसार सरकार परिवर्तन हुन्छ ।’ संसद विघटन गर्न लागेको आरोपको खण्डन गर्दै उनले ‘झ्यालबाट हाम फाल्ने खालको’ सरकार नभएको बताए ।

प्रधानमन्त्रीले ‘बाख्राको टाउकोमा भैसीको सिङ’ जस्तो संघीयता मुलुकले धान्न नसक्ने भन्दै धानिएन भने फेरि ‘विचार गर्ने’ बताए । ‘एउटा सरकार चलाउँदाको हविगत त यो छ, अब ८/८ वटा सरकार चलाउनुपर्छ,’ उनले भने, ‘एउटा प्रदेशबाट अर्को प्रदेशमा साइकलमा जाँदा पनि पसिना नआउने खालको संघीयता हुनुभएन ।’ विकास, पूर्वाधार, औद्योगिकरण, आधुनिकिकरण, शान्ती, सुशासन दिने संघीयता मात्रै टिक्ने दाबी गरे ।

संघीयता कार्यान्वयन चुनौतीपूर्ण
सबै मन्त्रालयका सचिव सहभागी अन्तर्क्रियाका सहभागीले यही गतिमा काम भए २०७४ माघ भित्रमा संघीयता कार्यान्वयन हुन नसक्ने धारणा राखेका थिए । संघीयताको स्वरुप नै स्पष्ट नभएको भन्दै सहभागिले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । संघीयतामा जाँदा गाउँपालिकाको संख्या, कर्मचारी व्यवस्थापन, श्रोतको व्यवस्थापनबारे छलफल भएको थियो ।

सामान्य प्रशासन मन्त्री रेखा शर्मा, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मुख्य सचिव सोमलाल सुवेदी, सामान्य प्रशासन सचिव टंकमणि शर्मा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने लगायतले संघीयतामा कर्मचारी व्यवस्थापनबारे आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु