१९ असार २०८१, बुधबार

आजदेखि उर्जा सम्मेलन सुरु हुँदै : ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै


उर्जा सम्मेलन

काठमाडौं । आजदेखि आठौं उर्जा सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने उर्जा सम्मेलन आजदेखि सुरु हुन लागेको हो ।

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ सुरु हुन लागेको ऊर्जा सम्मेलन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको हो । ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

सम्मेलनको संरक्षक उर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । सम्मेलनमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति हुनेछ ।

सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा ८०० जना सहभागी हुने छन् ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिनेछ ।

सम्मेलनमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिने भएको छ । सम्मेलनमा १५ वटा स्टल राखिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !