७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक हुनुअघि नै ‘मौद्रिक नीति’ बाहिर आएपछि अर्थमन्त्री गभर्नरप्रति आक्रोशित


जनार्दन शर्मा र महाप्रसाद अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज आज अपराह्न सवा ४ बजे सार्वजनिक गर्दै थियो । तर सार्वजनिक हुनुअघि नै मौद्रिक नीति ‘लिक’ भएपछि अर्थमन्त्री जनार्दन शर्मा आक्रोशित भएर गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका छन् ।

सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा मच्चिएको हो । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने मन्त्री शर्मालाई बताएका थिए ।

मन्त्री शर्माले यसबारे अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि सोधपुछ गरेका छन् । राष्ट्र बैङ्कको मौद्रिक नीति सरकारले प्रस्तुत गर्ने बजेट जस्तै हुने भएकाले सार्वजनिक हुन अगावै लिक भएपछि यसले अर्थतन्त्रमा ‘असर’ गर्ने अर्थविद्हरुले बताएका छन्।

राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो ।

सोही पेरीफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो । आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो । गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो ।

मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तन लगायतका कारणले केही समय ढिला हुन पुगेको हो । नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !