१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ महानगरपालिकाद्वारा १६ अर्ब ४२ करोड बढीको बजेट पारित


काठमाडौँ महानगरपालिका

काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट पारित भएको छ । आज यहाँ बसेको कामपाको ७ औँ नगरसभाको तेश्रो बैठकबाट सो बजेट पारित भएको हो । यही असार १० गते बसेको नगरसभाको दोश्रो बैठकमा कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक विधेयक र प्रमुख विद्यासुन्दर शाक्यले विनियोजन विधेयक प्रस्ताव गर्नुभएको थियो ।

“करको दर नबढाउनु भनेको करमा दिइएको छुट नै हो”, विधेयकका व्यवस्थाका बारेमा सभालाई जानकारी दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले भन्नुभयो, “करदाताहरुबाट आव २०७६/०७७ मा असुल हुनुपर्ने तर बाँकी सबै प्रकारका कर बक्यौता जरिवानामा छुट दिइएको छ ।” कोभिड–१९ का कारण व्यवसायीमा परेको प्रभावलाई सामान्य बनाउन यस्तो छुट दिइएको हो भने पहिलेका वर्षहरुमा असोज मसान्तसम्म दिइने गरेको सम्पत्ति करको छुटलाई यस वर्ष पुस मसान्तसम्म दिइने भएको उहाँले बताउनुभयो ।

त्यसैगरी पर्यटन क्षेत्रका व्यवसायीमा लकडाउनले पारेको असर कम गराउन महानगरले आफ्नै नाममा भएका र लिज वा भाडामा लिएका दुवै प्रकारका होटल, रिसोर्टको सम्पत्ति करमा ७५ प्रतिशत छुट दिने भएको छ । यसरी छुट पाउने करदाताले आर्थिक वर्ष २०७६/०७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरिसकेको हुनुपर्नेछ । विसं २०७७ पुस मसान्तभित्र सम्पति कर बुझाएमा अरूलाई दिइने जस्तै १० प्रतिशत थप छुट हुँदा यस क्षेत्रका व्यवसायीले सम्पत्ति करमा ८५ प्रतिशत छुट पाउनेछन् । व्यवसायतर्फ होटल, पर्यटन र मनोरञ्जन क्षेत्रका लागि ५० प्रतिशत र अन्य व्यवसायमा २० प्रतिशत छुट हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !