२४ पुस २०८१, बुधबार

कोमागाने मितेरीकक्ष सञ्चालन


Nepalpatra

२७ कात्तिक, पोखरा । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो ।

कोमागाने र जापानका बारेमा अध्ययन गर्न सो मितेरीकक्ष स्थापना गरिएको हो । सो कक्षको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र ‘सिटिजन एशोसिएसन फर नेपाल एक्सचेन्ज कोमागाने’का अध्यक्ष कोमा सुभाराले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । प्रदेशसभा सदस्य थापाले कोमागाने शहरसँगको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महागनरका उपप्रमुख गुरुङले मितेरी सम्बन्धलाई बलियो र आत्मीय बनाउन महागनर तयार रहेको बताउनुभयो । उहाँले पोखराको लेकसाइडस्थित कोमागाने पार्कलाई व्यवस्थित गर्ने महानगरको योजना रहेको बताउनुभयो । सिटिजन एशोसिएसन फर नेपाल एक्सचेञ्ज कोमागानेको अध्यक्ष सुभाराले पोखरा र कोमागानेबीचको सम्बन्धले दुई शहरका बासिन्दाबीचको सम्बन्ध सुमधुर बनेको बताउनुभयो । कोमागाने र पोखराबीच सन् २००१ मा मितेरी सम्बन्ध स्थापना भएको हो । कोमागानेले मातृशिशु मितेरी अस्पताल निर्माण गर्न, स्वास्थ्य उपकरण खरीद गर्न तथा स्वास्थ्य कार्यक्रमका लागि रु सात करोड सहयोग गरेको पोखरा कोमागाने नागरिकमैत्री एशोसिएसनका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !