१९ असार २०८१, बुधबार

हुलाकी राजमार्ग निर्माणमा ढिलाइ


Nepalpatra

२६ कात्तिक, धनगढी । कैलाली जिल्लामा निमार्णाधीन राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बाँकी सडकखण्डको निर्माण कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन ।

राजमार्ग निर्माणका लागि रेखाङ्कन गरिएको कैलालीको वसन्ता वन क्षेत्रको दुई किलोमिटर लामो भागमा रहेका रुख कटानी गर्ने काममा भएको ढिलाइले सडक निर्माणमा पनि विलम्ब भएको हो । धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण गरिने सो राजमार्गको ‘बाइपास’ सडक निर्माणमा पनि विवाद बढ्दा उक्त क्षेत्रको निर्माण अघि बढ्न सकेको छैन । वसन्ता वन क्षेत्रको दुई किलोमिटर खण्डमा थप ४३४ रुख काट्नुपर्ने देखिएपछि उक्त खण्डमा निर्माण कार्य अन्योलमा परेको आयोजनाका प्रमुख मनिसकुमार साहले बताउनुभयो ।

“रुख काट्नुपर्ने क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गराएर यससम्बन्धीको प्रतिवेदन मन्त्रालयमा प्रस्तुत गरिसकिएको छ, आयोजना प्रमुख साहले भन्नुभयो, “थप रुख काट्नुपर्ने प्रक्रियाका लागि पुनःमन्त्रालय, विभाग, डिभिजन कार्यालय हुँदै जानुपर्ने देखिएकाले निर्माण कार्य पनि अन्योलमा परेको छ ।”

वसन्ता वन क्षेत्रमा बनाउनुपर्ने १८ किमी लामो हुलाकी राजमार्गमध्ये १६ किमीमा भने निर्माण कार्य भइरहेको छ । उक्त खण्डमा ३० महीनामा निर्माण कार्य सक्ने गरी टुडी पेर्रा चन्दा एण्ड वसन्त जेभी कन्ट्रक्सनले ठेक्का पाएकोमा आउने फागुनमा ठेक्का अवधि पनि सकिन लागेको जनाइएको छ । धनगढी क्षेत्रको सन्दर्भमा हुलाकी राजमार्गको ‘बाइपास’ सडक निर्माण गर्न रेखाङ्कन गरिएको क्षेत्रका बासिन्दाले जग्गा दिन नमानेपछि यो खण्डको सडक निर्माण कार्य पनि अघि बढ्न सकेको छैन ।

धनगढीको क्याम्पस रोडदेखि मिलन चोक हुँदै कैलाली भन्सारसम्मको छ किमी लामो यो भागमा १२ मिटर चौडा सडक निर्माण गर्ने तयारी थियो । जग्गा काटेर सडक निर्माण गर्दा आफूहरु घरबारविहीन हुने भन्दै स्थानीय बासिन्दाले कैलाली जिल्ला अदालतमा मुद्दासमेत दिएको बताइएको छ ।

कैलाली जिल्लाको धनगढीदेखि पुरानो बजार हसुलिया र भजनी हुँदै सत्तीसम्मको (पूर्व–पश्चिम) ६२ किमी मध्ये ४४ किमी लामो हुलाकी राजमार्ग भारत सरकारको अनुदान सहयोगमा निर्माण पूरा भइसकेको छ । यस्तै लम्कीदेखि टीकापुर हुँदै खक्रौलासम्मको (उत्तर दक्षिण) झण्डै २७ किमी सडकसमेत भारत सरकारकै सहयोगमा निर्माण पूरा भइसकेको छ । कञ्चनपुर जिल्लामा डोके बजारदेखि बेलौरी बेलडाँडी हुँदै दैजीसम्मको हुलाकी राजमार्गको निर्माण कार्य तीन चरणमा बनाउन लागिएको हो । कञ्चनपुरको डोके बजारदेखि हुलाकी राजमार्गको अन्तिम बिन्दु दैजी बजारसम्म ६२ किमी लामो हुलाकी राजमार्ग निर्माण गर्ने लक्ष्य छ । निर्माण हुन बाँकी सडक बनाउने काम सरकार आफँैले गर्न लागेको आयोजनाको धनगढीस्थित कार्यालयले जनाएको छ ।

निर्माण पूरा नहुँदै राजमार्ग भत्किन थाल्यो

कैलाली जिल्लामा निर्माणको काम पूरा नहुँदै हुलाकी राजमार्ग ठाउँठाउँमा भत्किन थालेको छ । राजमार्ग भत्किँदा यसको मर्मत सम्भार गर्ने निकायको अभाव खड्किएको छ । बनेको हुलाकी सडक, सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरण गरिएको छैन ।

“बनेको सडक आयोजनालाई मात्र हस्तान्तरण गरिएको छ”, साहले भन्नुभयो, “सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुन नसक्दा बजेटको अभाव भई सडकको मर्मत सम्भारको काम पनि हुन सकिरहेको छैन ।”

मर्मत सम्भार शीर्षकको बजेट आयोजनामा नभई डिभिजनमार्फत मात्र आउने गरेको छ । भारतीय निर्माण कम्पनीले कैलालीमा निर्माण पूरा गरेको हुलाकी राजमार्ग खण्ड करीब दुई वर्षअघि नै आयोजनालाई हस्तान्तरण गरेको थियो । ठाउँठाउँमा भत्किएर आवागमनमा समस्या भएकाले हुलाकी राजमार्ग मर्मत सम्भार गर्न पहल भइरहेको प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले बताउनुभयो ।

राजमार्ग निर्माणबाट परेको प्रभाव

सो राजमार्ग निर्माणसँगै आसपासका बस्तीको आर्थिक क्रियाकलाप भने बढ्दै गएको छ । सदरमुकाम धनगढीसम्मको आवतजावत छोटिँदा आवागमन सहज भएको मात्र नभई पहिलेको भन्दा आर्थिक क्रियाकलाप बढेको स्थानीय चोलप्रसाद तिवारीले बताउनुभयो । “पहिले कच्ची बाटो हुँदा फूलबारीदेखि धनगढीसम्मको बाटो दिनभरिको थियो, अहिले आधा घण्टामै धनगढी पुगिँदा ठूलो परिवर्तन भएको महसुस भएको छ”, तिवारीले भन्नुभयो ।

निर्माण भएको राजमार्गले सदरमुकाम धनगढीसँगको दूरी छोट्याउँदा बढेको आर्थिक क्रियाकलापले कैलालीको दक्षिणी क्षेत्रका बासिन्दाको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको स्थानीय दलबहादुर रोकाया बताउनुहुन्छ । यसको निर्माणसँगै सडक आसपासको जग्गाको मूल्य पनि पछिल्लो समयमा अकासिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !