२५ बैशाख २०८१, मंगलबार

चख्खुखोला पुल शिलान्यास


mahesh basnet

११ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित चख्खु खोलामा पक्की पुल बन्ने भएको छ । कूल रु एक करोड ६० लाखको लागतमा निर्माण हुने पुलको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गर्नुभयो ।

सो अवसरमा उहाँले भक्तपुरमा ल्याउन खोजेको विकासलाई विकास विरोधी तत्वले रोक्न खाजेको उल्लेख गर्दै त्यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

“भक्तपुरमा प्रदेशको स्थायी राजधानी ल्याउन खोज्याँै, एउटा तत्वले विरोध ग¥यो, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढायौँ, त्यही तत्वले विरोध गर्दैछ, यहाँ जे विकास गर्न खोजे पनि विरोध गर्ने तत्वले अब बुझे हुन्छ, हात्ती लम्किरहेको छ, हात्तीको गतिलाई अब भुसुनाले रोक्न सक्दैन, भक्तपुरको विकास हुन्छ, हुन्छ, हुन्छ”, पूर्वमन्त्री बस्नेतले भन्नुभयो ।

वर्षौंदेखि भक्तपुरमा राज गर्ने पटकपटक संसद्मा पुगेका छन्, तर खै भक्तपुरको के विकास भयो ? अहिले जनताले हामीलाई पत्याए, अबको पाँच वर्षमा भक्तपुरको विकासले मुहार फेर्नेछ”, उहाँले भन्नुभयो, “गाउँगाउँमा पक्की सडक निर्माण शुरु भएको छ, १५ वटा पुल निर्माण शुरु भइसक्यो, छ लेन सडकको जाम हटाउने योजना ल्याएर काम शुरु भइसकेको छ, अब भक्तपुर सुरक्षित, उज्यालो र शान्तिपूर्ण भक्तपुर बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।”

नेता बस्नेतले आफ्नो पहलमा भक्तपुरमा उपत्यकाकै लामो एक तथा बन्जी जम्पसहितको अग्लो एक गरी दुई वटा झोलुङ्गे पुल, एकवटा बेलिब्रिज, हनुमन्ते करिडोर, मनोहरा करिडोर, वीरअस्पताल, प्राणी उद्यानलगायतका ठूला विकासका योजना ल्याएर काम शुरु गरिएको जानकारी दिनुभयो ।

अब भक्तपुरका महिला तथा युवाका लागि सीपमूलक कार्यक्रम ल्याएर आम्दानीको स्रोत विस्तार गर्न लागेको उल्लेख गर्दै उहाँले सिपाडोललाई नयाँ आधुनिक शहर निर्माण गर्ने तथा होमस्टेको विकास गरी जातीय, धार्मिक, सांस्कृतिक विकास गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनतालाई भार पर्ने गरी नगरपालिकाले करको वृद्धि नगरेको बताउँदै भ्रष्टाचार शून्य नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले पुल निर्माण सम्पन्नसँगै डोलेश्वर, आशापुरी जाने पर्यटकलाई निकै सहज हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले राजनीतिक दलको भूमिका भनेको राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता हुनुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !