१२ बैशाख २०८१, बुधबार

निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी दुई वर्षमा सम्पन्न हुने


upper tamakoshi

काठमाडाैं।निर्माणाधिन ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न हुने भएको छ ।
विनासकारी भूकम्प र नाकावन्दीले १ वर्ष भन्दा बढी समय ढिलाइ भएपछि आयोजना आउँदो ०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको हो । भूकम्पले पहँुचमार्गमा सडकमा ठुलो क्षति पु¥याएपछि बाँधस्थलको काम प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । आयोजनाको बाँधस्थलमा पुग्न २६० मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको उनले जानकारी दिए ।

“भूकम्प र नाकावन्दीले आयोजना ढिलाइ हुन गएको हो,” उनले भने “यो वर्षसम्म आयोजना सम्पन्न हुने गरी काम अघि बढिरहेकोमा निर्धारित लक्ष्य प्रभावित भई ०७५ असारसम्म आयोजनाको काम सम्पन्न हुने देखिएको छ ।” सुरुङ मार्गको काम सम्पन्न भएपछि बाँधको काम पनि अघि बढ्ने उनको भनाई छ ।

भूकम्पअघि आयोजनाको काम ७५ प्रतिशत बढी सम्पन्न भइसकेको थियो । भूकम्पअघि तिव्र गतिमा आयोजनाको काम अघि बढिरहेको थियो । आयोजना सम्पन्न भएपछि वर्षादमा हुँदै आएको विद्युतभार (लोडसेडिङ) हटनेछ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको सिभिल निर्माणको काम ०६७ भदौदेखि सुरु भएको हो । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आगामी २०७३ साउनदेखि पहिलो ईकाईबाट बिजुली उत्पादन गर्ने नयाँ मिति तय गरेको थियो । निर्माण अवधिको व्याज बाहेक आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ (४४ करोड १० लाख अमेरिकी डलर) छ । यो लागत १ डलर बराबर ८० रुपैयाँलाई आधार मानेर तय गरिएको हो ।

हाल डलरको भाउ बढेर १०७ रुपैयाँसम्म पुगेको र १ वर्षभन्दा बढी समय काम ठप्प भएकाले आयोजनाको लागत अझ बढ्ने सम्भावना छ ।माथिल्लो तामाकोसीको अर्को आयोजना रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सन आयोजनाको विस्तृत इन्जिनिरिङको काम भइरहेको छ । यसका लागि जर्मनको ल्याह्यमेयर इन्टरनेश्नलले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गरिरहेको छ ।

तामाकोसीको परामर्शदातमा ल्याह्यमेयर नै हो । उसैले तामाकोसीको विस्तृत इन्जिनियरिङ तयार गरेको हो । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । यो समेत गरी माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब ४५ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारणलाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन,हाइड्रोमेकानिकलमा टेक्सम्याको इण्डिया लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् ।

माथिल्लो तामाकोसीले वर्षादको ३ महिना पुरै विद्युत् उत्पादन गरेपनि माघ र फागुनमा घटेर ९० मेगावाट मात्र सिमित हुने छ । रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुख्खायाममा १ सय २० मेगवाटसम्म विद्युत् उत्पादन हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !