२५ बैशाख २०८१, मंगलबार

आयोजनाबाट प्रभावित जनताका लागि सामुदायिक विकास कार्यक्रम लागि


हाइड्रो

तनहुँ, २३ असोज । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासीसँग छलफल गरेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा आयोजनाबाट सात वटा झोलुङ्गे पुल, २० वटा गोरेटो बाटो, नौ वटा दाहसंस्कार स्थल, दुई वटा विद्युत् वितरण लाइन र दुई वटा कुलो प्रभावित भएको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक परामर्शदाताका प्रशासकीय अधिकृत उद्धव पौडेलले जानकारी दिनुभयो । ती भौतिक संरचना निर्माण गर्दा करिब रु साढे दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्ता भौतिक संरचना निर्माणमा स्थानीयवासीलाई विशेष प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

त्यसैगरी आयोजनाबाट प्रभावित एक हजारभन्दा बढी व्यक्तिलाई सीपमूलक तालीम प्रदान गर्ने योजना छ । उहाँले भन्नुभयो, “उनीहरुको आयस्तर उकासिने किसिमका तालीम प्रदान गर्ने लक्ष्य छ ।” त्यसैगरी जिल्लाको भिमादनगरपालिका–५ साउनेपानी र ऋषिङपाटन जोड्ने अन्टयाङ खोलामा मोटरेबल पुल निर्माण गर्न लागिएको छ । पुलको डिजाइन र इष्टिमेट बनाउन थालिएको छ । उहाँले भन्नुभयो, “भिमाद नगरपालिका कार्यालयसँग समन्वय गरी काम गर्ने योजना रहेको छ ।”

जिल्लालाई एक वर्षभित्र उज्यालो तनहुँ बनाउने गरी विद्युत् विस्तार कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ । ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली पु¥याउने गरी सवस्टेशन निर्माण र लाइन तान्ने कार्य भैरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !