१५ असार २०८१, शनिबार

नवनिर्मित वडा कार्यालय गुणस्तरहीन


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ११ नवनिर्मित वडाकार्यालय गुणस्तरहीन भएको छ । पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा गत आर्थिक वर्षमा पहिलो चरणअन्तर्गत ११ वडामा भूकम्पप्रतिरोधी एकै किसिमको सुविधायुक्त पक्की भवन निर्माण थालिएको थियो । ती प्रत्येक भवनका लागि रु ६५ लाखका दरले बजेट छुट्याइएको थियो ।

निर्मित भवन प्रयोगमा नआउँदै पानी चुहिएको सम्बद्ध कार्यालयका वडाध्यक्षहरूले बताएका छन् । भवन निर्माणको जिम्मा लिएको ठेकेदारकोे लापर्बाहीका कारण भवन गुणस्तरहीन बनेको उनीहरूको गुनासो छ ।

वडा नं १२ जालपा र वडा नं १३ नुनथलाका भवन निर्माण पछि सञ्चालनमा ल्याइएकामा अहिले पानी चुहिएर बस्न नहुने अवस्थामा पुगेको छ । नुनथलाको भवनमाथि गरिएको ढलानबाट वर्षात्का बेला पानी चुहिएर महत्वपूर्ण कागजात तथा कम्प्युटरसमेत बिग्रिएको वडाध्यक्ष भीम राईले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण बेला लामो समयसम्म उक्त भवन बन्द थियो ।

नुनथला, जालपा र वडा नं १५ विजयखर्कको भवन प्रकाश थापा सञ्चालक रहेको सञ्जीव निर्माण सेवा कम्पनीले ठेक्का पारेको थियो । नुनथला र जालपाको भवन नुनथलाकै युवा व्यवसायी प्रकाश नाछिरिङले तथा विजयखर्कको भवन दिक्तेलका लालु विश्वकर्माले ठेक्का पाएका थिए ।

गत चैत २ गते उद्घाटन गरेर सञ्चालनमा ल्याइएको विजयखर्कको भवनमा समेत पानी चुहिएर काम गर्न असहज भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो । “ठेकेदारको लापर्बाहीले भवनको छतमा राखिएको रेलिङसमेत बाङ्गिएको छ”, उहाँले भन्नुभयो, “ढलान चुहिएर बस्नै नहुने भएपछि सिमेन्ट र बालुवा घोलेर हाल्दा पनि पानी चुहिन छाडेको छैन ।”

ठेकेदारको लापर्बाहीले जडान गरिएको विद्युत्समेत चुहावट भएर एक महिनाको विद्युत् महसुलमात्रै रु २० हजार २०० उठेको जालपाका वडाध्यक्ष विकास राईले बताउनुभयो । “ एक वर्षका लागि वडाबाट छुट्याइएको विद्युत् महसुल शीर्षकको बजेट एउटै महिनामा सकिएपछि अहिले वडा कार्यालयमा विद्युत् नै बन्द गरिएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा सम्बन्धित निकायले ध्यान दिएर तत्काल ठेकेदार कम्पनीमाथि कारवाही हुनुपर्छ ।”

वडा नं १० पाथेका र वडा नं ११ खार्मीको भवन निर्माणको जिम्मा दिक्तेलका जोसफ रिजाल प्रबन्धक रहेको मोहन एण्ड बेँसीगाउँ निर्माण कम्पनीले लिएको थियो । निर्माणको काम अझै बाँकी रहेको खार्मीको भवन पनि प्रयोगमा नआउँदै पानी चुहिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिनुभयो ।

यस्तै वडा नं १ दिक्तेल, वडा नं २ सोल्मा र वडा नं ४ खाल्लेको भवन निर्माणको ठेक्का पिआर कन्ट्रक्शन प्रालि र इन्द्रलक्ष्मी निर्माण सेवा कम्पनी जेभीले लिएको थियो । सोल्मामा निर्माण गरिएको भवन वडाध्यक्ष हर्कबहादुर खत्री र स्थानीय बासिन्दाबीचको विवादका कारण निर्माण भएर पनि सञ्चालनमा आएको छैन ।

वडा नं ७ दोर्पा चिउरीडाँडा, वडा नं ८ दोर्पा बुवालुङ र वडा नं ९ निर्मलीडाँडाको भवन एमाले नेता दिलचक्र राई र निर्माण व्यवसायी कर्ण खत्री प्रबन्धक रहेको दोर्पा कन्ट्रक्शन प्रालि र रुजन के निर्माण सेवा जेभीले ठेक्का पाएको थियो । वडा नं ७ र ८ को भवन निर्माण सकिएको छ भने निर्मलीडाँडाको भवनमा ढलान गर्न पनि बाँकी रहेको नेकपा (माओवादी केन्द्र)का युवा नेता मिलनचन्द्र राईले जानकारी दिनुभयो ।

निर्माण गरिएका ती भवन कर्मचारी दरबन्दीअनुसार सानो र गुणस्तरहीन भएको वडा नं १ का वडाध्यक्ष टङ्कप्रसाद आचार्यले बताउनुभयो । “ठेकेदार कम्पनीले निर्माण गरिसके पनि पानी चुहिएका कारण हामीले जिम्मा लिएका छैनौँ”, उहाँले भन्नुभयो, “वडा कार्यालय निर्माण गरिएको ठाउँभन्दा अगाडिको भागमा पहिरोसमेत गएकाले अहिले त्रिपालले ढाकेर राखिएको छ ।”

बाहिरबाट हेर्दा भवन आकर्षक देखिन्छ तर कार्यालय भवनभित्र पस्दा ढलान गरिएका ठाउँबाट चुहिदा भित्र जलमग्न भएकाले आफूहरूले पटक–पटक कुरा उठाउँदासमेत सम्बन्धित पक्षले चासो नदिएको वडाध्यक्षहरूको गुनासो छ । नगरपालिकाले उपलब्ध गराएको लागत अनुमान तथा निर्माण सामग्री प्रयोग गरेर प्राविधिककै उपस्थितिमा भवन निर्माण गरिएकाले आफूहरूको कुनै कमजोरी नरहेको पिआर कन्ट्रक्शन प्रालिका प्रबन्धक एवं निर्माण व्यवसायी सङ्घका जिल्लाअध्यक्ष रमेश पौडेल ‘दिनेश’को जिकिर थियो ।

सबै वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र सम्पन्न गर्न बाँकी भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीलाई जम्मा विनियोजित बजेटको १० प्रतिशत जरिवाना लिएर काम गराइरहेको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “वडा कार्यालय भवन निर्माणमा ठेकेदारका तर्फबाट कमजोरी देखिएको हामीहरूलाई पनि महशुस भएको र गुणस्तरहीन काम भएका ठाउँमा वर्षदिनसम्म सच्याउने समय हुन्छ”, उहाँले भन्नुभयो, “वर्षदिनभित्र पनि ठेकेदार कम्पनीले नसच्याएमा उनीहरूले राखेको धरौटी रकम जफत गर्नाका साथै सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरिन्छ ।”

स्थानीय तहको निर्वाचनमार्फत नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले बनाएको पाँचवर्षे आवधिक योजनाअनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माण गर्ने उद्देश्यले करिब १०० जना अट्ने सभाहल, वडाध्यक्ष, वडासचिव र वडा कार्यसमितिका सदस्य तथा कर्मचारी बस्ने चार कोठा भएको एकतले भवन निर्माणको काम थालिएको थियोे ।

वडा नं ३ बाम्राङ, वडा नं ५ लफ्याङ, वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा भने पहिल्यै सुविधासम्पन्न भवन निर्माण गरिएको थियो ।

चार भागमा विभाजन गरेर निर्माण शुरु गरिएको ११ वटा वडा कार्यालय भवनका लागि नगरपालिकासँग ठेकेदार कम्पनीले रु छ करोड ३८ लाख १८ हजार ३२० मा ठेक्का सम्झौता गरेका लेखा प्रमुख राजकुमार राईले बताउनुभयो ।
नगरपालिकासँग सम्झौता गरेर कामको जिम्मा लिएका ठेकेदारले कम मूल्यमा पेटी ठेकेदारलाई भवन निर्माणको जिम्मा दिएका कारण भवन गुणस्तरहीन हुनाका साथै तोकिएको समयमा निर्माणको काम सम्पन्न नभएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !