जन्म र पृष्ठभूमि : सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म वि.सं. २०१८ असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभन्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह–अवरोहहरू पार गर्दै राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल उहाँको जीवन सबैका लागि प्रेरणादायी र उर्जापूर्ण छ ।
बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गर्नुभएकी भण्डारीले विद्योदय व्यवसायिक सेकेन्डरी स्कूल भोजपुरबाटै एसएलसी उत्तीर्ण गर्नुभएको हो । भोजपुर क्याम्पसबाट आइएको अध्ययन पूरा गरी भण्डारीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन गर्नुभएको थियो । २०३५ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उहाँले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आउनुभएको थियो ।
वि.सं. २०३९ सालमा उहाँको शुभविवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुखद निधन भएसंगै उहाँको दाम्पत्य जीवन एघार बर्षको छोटो समयमै समाप्तभयो । पतिको दुखद अवसानपश्चात् नाबालक नै रहेका छोरीहरू उषाकिरण र निशा कुसुमको लालन–पालनको साथसाथै थप राजनीतिक जिम्मेवारी उहाँले लिनुभयो । जेठी छोरी उषाकिरण भण्डारीको उमेश थापासँग र कान्छी छोरी डा. निशाकुसुम भण्डारीको इन्जिनियर अभिषेक यादवसँग विवाह भएको छ ।
शिक्षा
बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गर्नुभएकी भण्डारीले विद्योदय व्यवसायिक सेकेन्डरी स्कूल भोजपुरबाटै एसएलसी उत्तीर्ण गर्नुभएको हो । भोजपुर क्याम्पसबाट आइएको अध्ययन पूरा गरी भण्डारीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन गर्नुभएको थियो ।
विदेश भ्रमण
भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड ।
राजनीतिक यात्रा
- २०३५ सालमा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ ।
- २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
- २०३७ सालमा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
- २०३६ सालदेखि २०४४ सालसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।
- २०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।
- २०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।
- २०५० सालदेखि २०५४ सालसम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।
- २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
- २०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
- २०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
- २०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित ।
- २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
- २०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
- २०६०/०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी ।
- २०६२ सालमै काठमाडौंमा भएको अखिल नेपाल महिला संघको पाँचौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित ।
- २०६२ सालमै नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) उपाध्यक्षमा निर्वाचित ।
- २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
- २०६६ सालमा नेपाल सरकारको रक्षा मन्त्रीका रुपमा कार्य सम्पादन ।
- २०६९ सालमा पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित ।
- २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित ।
- २०७२ सालमा देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित ।
- २०७४ सालमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित ।
जेल जीवन
२०६१/०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत ।