१२ असार २०८१, बुधबार

‘ज्योतिषशास्त्र विज्ञान पनि हो’


ज्योतिषशास्त्र

बेदकोट, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उहाँ सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाएका छन् ।

भारतको हरिद्वारबाट पूर्वमध्यमासम्मको अध्ययनपछि आफुले बुबासँग बसेर ज्योतिष विद्या सिकेको उनले बताए । “हरिद्वारमा संस्कृति पढे । त्यसपछि विद्यालय गइएन । घरमै बुबासँग बसेर ज्योतिष विद्या सिके”, जोशीले भने, “बुबा बितेपछि २५ वर्षअघिदेखि ज्योतिषी कर्ममा लागेको छु ।” उहाँको घरमा व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहनिर्माण शुभारम्भ आदिको शुभमुहूर्त हेर्न आउनेको भीडभाड नै लाग्ने गरेको छ । 

सीमावर्ती भारतीय क्षेत्र बनबासा, टनकपुर, खटिमा र रुद्रपुरलगायत ठाउँबाट पनि मानिसहरु आउने गरेका छन् । “हाम्रो पुर्खाले पाँच सय वर्षअघिदेखि ज्योतिषी कर्म थाल्नुभयो । यो पेसा अहिलेसम्म पनि निरन्तर छ”, उनले भने, “मसम्म आइपुग्दा ज्योतिषी कर्म थालेको ३८औँ पुस्ता हो । यति लामो इतिहास जोगाउनु उपलब्धि र चुनौती दुवै हो ।” उनले अँठोला पञ्चाङ्ग समेत प्रकाशित गर्दै आएका छन् । “चार-पाँच वर्ष बुबाले हातले लेखेरै पञ्चाङ्ग बनाएर बाँड्नुभयो । पछि सुदूरपश्चिमबाट पहिलो पटक पञ्चाङ्ग दर्ता गराएर अनुमति लियौँ”, उनले भने, “त्यसपछि निरन्तर पञ्चाङ्ग प्रकाशित गर्दै आएका छौँ ।”

यसलाई निरन्तरता दिन र परिवारको ज्योतिषी विरासतलाई जोगाइराख्न मुरलीधर अहिले आफ्ना छोरा, नातिनातिनालाई पनि ज्योतिषी कर्म सिकाउनुहुन्छ । “ज्योतिषशास्त्र विज्ञान हो । यो भएन भने संसार नै चल्दैन”, उनले भने, “आस्था र  विश्वासले यसलाई चलाएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !