११ जेष्ठ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु


अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गरे ।

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ ।

सो अवसरमा सचिव शर्माले गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पु¥याउनु आजको मुख्य जिम्मेवारी एवं आवश्यकता भएको बताए । भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा राष्ट्रसङ्घले यो वर्षलाई कोदोजन्य वर्षका रुपमा मनाउने निर्णय गरेको हो । ‘खाद्यपोषण सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणको कोदोजन्य बाली’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस वर्ष कोदो बाली वर्ष मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्वपूर्ण रहेको बताउनुभयो । मन्त्रालयका अनुसार आव २०७४/७५ मुलुकमा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७ दशमलव ७ प्रतिशत हिस्सा ओगट्दै आएको छ । नेपालको तराईदेखि समुद्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र विज्ञ श्रीमत श्रेष्ठले मुलुकमा खाद्यान्न उत्पादन घट्न गई आयात बढिरहेको अवस्थामा कोदोजन्य र अरू रैथाने बालीको संरक्षण र विस्तारमा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए ।

मुलुकको ७७ जिल्लामा कोदो खेती गरिने भए पनि खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा र गोरखाका धेरै क्षेत्रफलमा कोदो खेती हुने गरेको छ ।

विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपालको स्थान १३ औँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले करिब रु चार करोड बराबरको कोदो आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू–भागमा लगाइने महत्वपूर्ण बाली हो । परम्परागतरुपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइकोे खाना हो ।

पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा महत्वपूर्ण सूचीमा पर्दै आएको छ । सरकारले कोदोजन्य उत्पादन प्रवद्र्धन गर्न मुलुकका एक सय ३३ भन्दा बढी पालिकालाई लक्षित गरी वार्षिक रु २२ करोड रकम विनियोजन गर्दै आएको छ । मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदो राम्रो खाना मानिन्छ ।

पौष्टिक खाद्य तत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ । कोदोजन्य खाद्यबालीको विकासमा क्रियाशील चन्द्रकान्त चौधरी, शुभबहादुर घलान, तिलक ढकाल र सुमन दाहाललगायतले कोदोका परिकारलाई विविधीकरण गर्दै राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइनुपर्ने तर्क प्रस्तुत गरे ।

मुलुकमा अरुण, भदौरे, चरिकोटे, चुल्ठे, च्याल्से, चाल्ठे, डल्ले, सेतो दुधे, झुप्पे, कलोबुङे, कात्तिकैलगायत ५० भन्दा बढी जातका स्थानीय तथा उन्नत जातका ओख्ले, डल्ले, काभ्रे, सैलुङ कोदो लगाउने गरिएको छ । अरू खाद्य बालीका तुलनामा कोदोमा कम रोग लाग्ने विज्ञहरु बताए । मुसा, बाँदर र मृगलगायत जङ्गली जनावरबाट बाली जोगाउन निकै चुनौती रहेको कृषकको गुनासो छ ।

पछिल्लो समय कोदोका मोःमोः सबैको रोजाइमा पर्दै आएको छ । रोपेको चारदेखि पाँच महिनामा बाली भित्र्याउन तयार हुने कोदोको मुलुकमा औसत उत्पादनप्रति हेक्टर १ एक दशमलव १ मेट्रिक टन रहेको विभागले जनाएको छ । पछिल्लो समय कोदो गाउँ र सहरलाई जोड्ने महत्वपूर्ण खाद्यवस्तु र परिकार बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !