सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई हुने छैन सकस Nepalpatra सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई हुने छैन सकस
१८ मंसिर २०७९, आइतबार

सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई हुने छैन सकस


सगरमाथा पदमार्गमा अस्पताल

फाक्दिङ, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् ।

हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटोभरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यवस्था नहुँदा पर्यटकलाई निकै सकस हुने गरेको छ ।

स्थानीयलाई झनै सकस हुन्छ । पर्यटक र स्थानीयवासी उपचार अभावमा ज्यान गुमाउन बाध्य हुन्छन् । बिरामी भइहाले उनीहरु नाम्चे र लुक्लाको सामान्य अस्पतालको भर पर्दछन् । तर बिरामी घण्टौँ हिँड्नुपर्दा बाटोमै ज्यान गुमाएका अनेकन उदाहरण छन् ।

अब अवस्था फेरिएला जस्तो छ । यही सातादेखि खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ शै्ययाको अस्पताल सञ्चालनमा आएको छ । यहाँ अस्पतालसँगै दक्ष चिकित्सकको व्यवस्था गरिएको छ । रु २० करोडको लगानीमा अस्पताल सञ्चालनमा आएको हो ।

लुक्ला र नाम्चेको बीचमा अवस्थित फाक्दिङमा तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरिएको छ । अस्पतालमा ४० कोठा छन् । अस्पतालका मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा रहेका छन् । उनी हिमालयन शेर्पा फाउण्डेशनको अध्यक्षसमेत हुन् । शेर्पाको होटल व्यवसाय पनि छ ।

बिरामीको अवस्था देखेर व्यवसायी शेर्पाको मन पोल्थ्यो । स्थानीयवासीको अवस्था दयनीय थियो । आर्थिक अवस्था एकदमै कमजोर । बिरामी पर्दा आन्तरिक तथा बाह्य पर्यटक बीच बाटोबाटै आफ्नो गन्तव्य त्याग्न बाध्य हुन्थे । यि सबै कुराले शेर्पा बेचैन भए । जसरी नि यो क्षेत्रमा एउटा अस्पताल बनाउनैपर्ने निष्कर्षमा उनी पुगे । “अस्पताल बनाउन सजिलो थिएन”, शेर्पाले भने, “मेरा सामु ठूलो चुनौती थियो, अन्ततः म सफल भए ।”

विसं २०७२ वैशाखमा गएको भूकम्पले सोलुखुम्बु पनि प्रभावित बन्यो । घर भत्किएपछि यहाँका सर्वसाधारण बिचल्लीमा परे । शेर्पा यस्तो अवस्था देखेर बेचैन भए । उनले सहयोग अभियान चलाउनुभयो । स्वदेशी तथा विदेशी नागरिकले सहयोग गर्दा झण्डै रु डेढ करोड सङ्कलन भयो ।

उनी राहत सामग्री बाकेर गाउँ गाउँ पुगे । “साथीहरुले भूकम्प पीडितको अवस्था झल्किने तस्बिर सामाजिक सञ्जालमा राखेका रहेछन्, यसबाट मन पग्लेर विदेशमा रहेका स्थानीय तथा विदेशी नागरिकले सहयोगको इच्छा देखाउनुभयो”, उनले भने, “दैनिक रुपमा सहयोग रकम सङ्कलन हुँदै गयो ।”

रकम सङ्कलन हुँदै गएपछि शेर्पाको मन फाउण्डेशन स्थापनार्फ मोडियो । श्रीमती र छोरीको साथले उहाँले हिमालयन शेर्पा फाउण्डेशन स्थापना गर्नुभयो । योसँगै शेर्पाले फाक्दिङमा भएको १५ रोपनी जग्गाा फाउण्डेशनका नाममा जोडे। त्यहीँ जग्गामा अस्पताल निर्माण गरिएको छ ।

“सुरुआतमा फाउण्डेशनको खातामा मैले दैनिनक १० डलर जम्मा गर्न थाले”, उनले भने, “पछि दैनिक एक सय डलरसम्म खातामा जम्मा गर्न सफल भए ।” फउण्डेशनलाई विदेशमा रहेका नेपालीका साथै शेर्पासँँग जोडिएका सयौँ व्यक्तिले सहयोग गरे । यसरी सङ्कलन भएको रकमबाट सात वर्षअघि शेर्पाले तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण थालेका हुन् ।

“जब म भूकम्पपछि राहत सामग्री लिएर गाउँगाउँ पुगे, सबैले यो ठाउँँमा अस्पताल बनाइदिन आग्रह गर्नुभयो”, उहाँले भन्नुभयो, “बिरामीको अवस्था देखेरै अस्पताल बनाउने अभियान थालेको हो ।” हिमालयन शेर्पा अस्पतालको यही कात्तिक १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

यही ठाउँमा शेर्पाले सात वर्षअघि स्थानीयको पीडा देखेर स्वास्थ्य क्लीनिकसमेत सञ्चालन गरेका थिए । उक्त क्लीनिकबाट स्थानीयले निःशुल्क उपचार पाएका थिए । “कोरोना महामारीका कारण अस्पताल बन्न ढिला भयो”, उनले भने । दुई हजार छ सय १० मिटर उचाइमा तीन महिनाअघि अस्पताल बनेको हो ।

सगरमथा पदमार्गको लुक्ला र नाम्चेमा अस्पताल छ । तर ती दुवै अस्पताल सुविधा सम्पन्न भने छैन । जटिल रोगका बिरामीले उपचार गर्न सक्ने अवस्था छैन । उपचारका लागि उनीहरु हेलिकप्टर चार्टर गरी काठमाडौँँ नै फर्किनुपर्ने अवस्था छ ।

“नेपाल घुम्न आउने पर्यटक बढीजसो मध्यम आर्थिक अवस्थाका हुन्छन्”, शेर्पा भने, “धेरै पैसा खर्च गर्न र पदयात्रामा ज्यानको जोखिम मोल्न उनीहरु चाहँदैनन् ।” स्थानीय र आन्तरिक पर्यटकलाई त हेलिकप्टर चार्टर गरेर उपचार गर्न असम्भव जस्तै छ ।

“जेनतेन जोगाएको पैसोका भरमा घुम्न आइन्छ, हेलिकप्टर चढेर उपचार गराउन काठमाडौँ जाने कुरा त कल्पना गर्नै सकिन्न”, लुक्लामा भेटिएका जुम्लाका पदयात्री टङ्क महत भन्छन्, “अरु सबै कुरा ठीक छ, बिरामी परे उपचार गराउन धेरै समस्या रहेछ ।” पदमार्गमा सामान्य औषधिसमेत पाउन नसकेको उहाँको गुनासो छ । सगरमाथा क्षेत्रमा पर्यटक भित्र्याउन सबैभन्दा पहिला सुविधासम्पन्न अस्पताल आवश्यक भएको महतको भनाइ छ ।

लुक्लादेखि फाकदिङ पुग्न पैदल चार घण्टा लाग्छ । बिरामीलाई लुक्ला अस्पताल पुग्न सातदेखि आठ घण्टासम्म लाग्छ । “उपचार गराउन लुक्ला गएका बिरामी बाटोमै मरेका धेरै घट्ना छन्”, हिमालयन शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले भने । डोकोमा बोकेर अस्पताल लैजानुपर्ने उनले बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा ११ गाउँ छन् । गाउँँका सबैजसो पुरुष ट्रेकिङमा जान्छन् । उनीहरु कोही भरिया, कतिपय गाइडको काम गर्छन् । महिला र बालबालिका घरमै हुन्छन् । बालबालिका बिरामी भए महिला आफैँले बोकेर अस्पताल लैजान्छन् । लुक्लाबाहेक उनीहरु उपचार गर्न जाने ठाउँ नाम्चे हो । त्यहाँ पनि उपचार गराउन सात आठ घण्टा हिँड्नुपर्छ । “सुत्केरीलाई उपचार गराउन बढी दुःख छ”, शेर्पा भन्छन्, “हेलिकप्टर चढेर अन्यत्र लैजान आर्थिक अभावले सम्भव नै हुन्न ।”

यहाँँको मुख्य खाना भनेको आलु र भात नै हो । अधिकांश मधुमेह, हृदयघात र रक्तचापबाट पीडित छन् । “बिरामी स्वास्थ्य जचाउन खाली पेट जानुपर्छ, यसरी घण्टौं हिंडेर जाँदा बाटोमै ज्यान जाने जोखिम हुन्छ”, उनले भने । यहाँका बासिन्दा सामान्य रोग लाग्दा सहेरै घरमा बस्न बाध्य हुन्छन् ।

हिमालयन शेर्पा अस्पतालले हाल १५ शै्ययाका लागि मात्र अनुमति पाएको छ । भविष्यमा शै्यया थप्ने योजना रहेको सञ्चालक शेर्पा बताउनुहुन्छ । “स्थानीयलाई निःशुल्क उपचारको व्यवस्था गरेको छु”, उनले भने । शेर्पा नेपाल पर्यटन बोर्डको सदस्यसमेत थिए । उनले बोर्डमा हुँदा बजेट ल्याएर पर्यटक लक्षित विकासका काम गरे ।

विदेशी पर्यटकलाई हिमालमा पदयात्रा गर्न जाँदा, हिमाल आरोहणमा जाँदा धेरै समस्या हुने गरेकोप्रति उनी सधैँ सचेत छन् । “बिरामी भएका पर्यटकलाई फाक्दिङसम्म ल्याएर उपचार गरी पुनः आरोहण र पदयात्रामै फर्काउन चाहन्छु”, शेर्पाले भने, “उनीहरुलाई उद्धार गरेर काठमाडौँ पठाउने होइन् । यहीँँ उपचार गरी गन्तव्यमा पठाउन सके विश्वभर राम्रो सन्देश जान्छ ।”

पर्यटकले धेरै दुःख गरी पैसा बचत गरेर नेपाल घुम्न आएका हुन्छन् । उहाँँहरु गन्तव्यसम्म पुग्न नपाइ फर्किनु परे उहाँहरुले चाहेको सपना पुरा हुन् सक्दैन् । यो कुरालाई ध्यानमा राख्दै अस्पताल निर्माण गरेको शेर्पाले बताए । अस्पताल बनाउन जर्मनीका नागरिक डा मथेस बाउमेनले रु पाँच करोड तथा अन्य दाताबाट थप रु दुई करोड सहयोग प्राप्त भएको शेर्पाले जानकारी दिए ।

हाल अस्पतालमा एक चिकित्सकसहित तीन स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउने योजना छ । त्यसका लागि रु ५० लाखभन्दा बढी खर्च हुने बताइन्छ ।

राज्यको तर्फबाट यस क्षेत्रमा अस्पताल बनाउन चासो दिइएको छैन । तर शेर्पा भने सबैथोकका लागि राज्यका निकायमाथि निर्भर नरहन सबैलाई सुझाव दिए । “हामी आफँैले केही गर्ने प्रयास गर्ने हो, किन सरकारमाथि नै निर्भर रहनु ?” अस्पताल बनाउन सरकारी निकायले सहयोग नगरेको प्रति उनको गुनासो छैन । पर्यटन व्यवसायी शेर्पा परिवारले अन्य व्यावसायिक तथा सामाजिक कामसमेत गर्दै आएको छ । उनीहरुले यहाँ गुम्बा तथा विद्यालय आफ्नै खर्चमाा निर्माण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !