साँझ
“सुकुटेको त के कुरा गर्नु र !”, तेन्जीले हातको ग्लास भूइँमा राख्दै भन्यो । “यो त स्वर्ग नै हो । होटेल नै हेर्नुस् न २२ ओटा पुगिसके । धुलीखेलदेखि बारबिसेसम्म यति राम्रो ठाउँ कतै छैन । मेरोमा आउने गेस्टहरू भन्छ भोटेकोशीको आवाज सुकुटेमा जस्तो रमाइलो यता कुनै ठाउँमा सुनिदैन रे ।”
प्रवीणले मनमनै भन्यो –“म यही आवाज सुन्न काठमाडौँदेखि यहाँसम्म आएको हो, तिम्रो बकबक सुन्न होइन” । सानो घुटकी लिएर उसले आफ्नो बियरको ग्लास तल राख्यो र तेन्जीको कुरामा सही थापेझैँ गरि मुस्कुरायो । पानीका बाछिटासँगै उर्लेर आएको चिसो हावाले दुबैको कपाललाई एकपटक जोडजोडले हल्लायो ।
“दश बजिसक्यो है केटा हो, भूइँको सब प्लेटहरू उठा, रोडको गेट बन्द गर,बेसिनमा साबुन सकियो, १० नम्बरमा अर्को एउटा सिरानी पुर्याइदे, कायाक थन्का” –बसिरहेको ठाउँबाट उठ्दै स्टाफलाई काम अराउनमा व्यस्त भयो तेन्जी । उसको आवाज रक्सी पिउँदै सार्होसार्हो कुरा गरिरहेका गेस्ट र झन् चर्कोगरि पर्दैगरेको पानीको आवाजमा मिसिएर सानो हुँदै गयो ।
‘सुकुटे फन रिजर्ट’ । तर, प्रवीण ‘फन’का लागि आएको होइन । रिजर्टकै मुनि निरन्तर बगिरहेने भोटेकोशीको आवाज, नजिकैको लमतन्ने बलौटे बगर,धोइपखाली रङ्ग मिलाएर राखेझैँ किनारमा असरल्ल थुप्रिएका ढुङ्गा अनि चकमन्न रातमा पारी डाडाँमा देखिने झिपझिपे बत्तिको प्रकास मिलेर एउटा विशेष चित्र बनाउँछन् यहाँ । त्यो चित्रको अर्थ बुझ्न प्रवीण यहाँ आइरहन्छ ।
यसपटक पनि अफिसमा कहाँ जाँदैछु भनेर कसैलाई खबर गरेको थिएन उसले । मदनलाई एउटा टेन्ट बुक गर्न लगाएको मात्र हो । आफैँ ड्राइभ गरेकाले ड्राइभरको झमेला पनि थिएन । फोनलाई एअरप्लेन मोडमा राखेको थियो । अब ऊ आफैसँग थियो -एक टुक्रा रात, भोटेकोशीको सुसेली अनि ऊ ।
“त्यसले मलाई चिनेको छैन । अब देख्छ म को हुँ भनेर । मास्स्साले ! हरामखोर ! मलाई हात लाउने ?!”, अन्दाजी २५ वर्षको आफ्नो साथीलाई एक युवती पाखुरामा समाएर टेन्टतिर लैजाँदै थिइ । केटा राम्ररी खुट्टा टेक्न सकिरहेको थिएन तर निकै रिसाएको थियो । आफ्नै टोलीको कोही साथीसँग झगडा गर्दैथियो शायद । “स्टप इट, विशाल, कमन, स्टप इट, हि इज सरी, इट्स ओभर नाउ”, केटी उसलाई सम्झाउन खोजिरहेकी थिइ । तर, त्यो केटीले जति बोल्यो ऊ झन् उत्तेजित भएर कराइरहेको थियो ।
त्यो जोडीलाई प्रवीणले साँझपख भोटेकोशीको बगरमा देखेको हो । चेहेरेसम्म राफ्टिङ्ग गर्ने टोलीमा उनिहरू पनि थिए । निकै रमाइरहेका थिए त्यो बेला । कायाक चलाउने रिजर्टको केटाले राफ्ट धकेलेर भोटेकोशीमा हाल्दा खुशीले चिच्याइरहेका थिए । चिच्याहटसँगै उनिहरू चढेको राफ्ट बिस्तारै क्षितिजमा बिलाएको प्रवीणले देखेको हो ।
त्यो केटीले हरियो टि-सर्ट र कालो पाइन्ट लगाएकी थिइ । सामान्य अनुहार । उसको रूपमा विशेषता भन्नु गाढा गाजल थियो -जसलाई राफ्टिङ्ग अनि झरीले थप फैलाएका थिए । तर, उसलाई यसको वास्ता भएझैँ लाग्थेन ।
“सर, तपाईंको टेन्ट पाँच नम्बर । टाबेल, मच्छर धुप र पानीको बोटल बेडमाथि राखिदिएको छु । अरू केही चाहिए भन्नुहोला”, होटलको केटाले नजिकै आएर भन्यो । जवाफमा प्रवीण मुस्कुरायो । किन हो त्यो केटाले अलि लज्जित महसुस गर्यो । ‘अलि ठूलो स्वरले बोलेँछु’ भन्ने लागेर हो कि ! ऊ तत्काल आफ्नो काममा फर्क्यो ।
बारमा अब प्रवीण मात्र बाँकी थियो । केही क्षण अघिसम्म मानिसहरू आफ्नो ड्रिङ्क्स लिन आउने जाने गरिरहेका थिए तर अहिले त्यो क्रम रोकिएको थियो । बारको केटा पनि अल्छि मान्न थालिसकेको थियो । घरिघरी उँघिरहेको पनि थियो ऊ । डिनर खाने ठाउँमा मानिसहरूको सङ्ख्या निकै नै कम भइसकेको थियो । प्राय सबै आ-आफ्नो टेन्टतिर लागिसकेका थिए । ८-१० जना मानिसहरूमात्र सानो स्वरमा गफ गरिरहेका देखिन्थे । उनीहरू शायद धेरै मातेका थिएनन् । उनिहरूको आवाजलाई पानीको आवाजले जित्न लागिसकेको थियो । प्रवीणले घडी हेर्यो -११:३० ।
उसलाई टेन्टमा जान मन लागेन । बारको केटालाई अल्झाइरहन पनि मन लागेन । कुर्सीबाट झरेर बाहिर हेर्यो –जुनलाई बादलले ढाकेर रात गाढा बनाएको थियो । रिजर्टका बत्तिले वरिपरि र अलि परसम्म मात्र उज्यालो देखिन्थ्यो । पानी पर्न रोकिएको भए पनि आकास नउघ्रेकोले कुनैपनि बेला फेरि पर्ने सम्भावना थियो । यस्तैमा ऊ अगाडि बढ्यो र रिजर्टका सिंढी ओर्लिँदै बिस्तारै बगरतिर लम्क्यो । भोटेकोशीको आवाज क्रमश गाढा हुँदै आयो । अझ अगाडि बढेर खोला छेउको एउटा ढुङ्गामा थचक्क बस्यो र कुन्नी के सोचेर हो दिउँसोदेखि एअरप्लेन मोडमा राखेको मोबाइललाई नर्मल मोडमा सार्यो, १५-१६ एसएमएस मोबाइलमा एकपछि अर्को गर्दै लोड भए । त्यसमध्येको एउटा एसएमएस खोलेर हेर्यो । रचयिताले पठाएकी रहिछ -“Papa, Happy Anniversary!”
उसले मोबाइल खल्तीमा हाल्यो । सोच्यो -सुकुटे नआएको भए रचयिता अफिसमै भेट्न आउँथी होली । त्यहाँबाट उनीहरू लाजिम्पाटको कुनै कफी शप जाने थिए । लगभग ५-७ वर्षदेखिको नियमितता । वर्षको यो एक दिन ऊ प्रवीणसँग झगडा गर्दिन, न त उसलाई कुनै प्रश्न नै गर्छे । एकोहोरो भावले हेरिरहन्छे मात्र । उसको आँखामा यसदिन देखिने स्नेहभाव किनकिन प्रवीणलाई मन पर्छ ।
घरमा र अफिसमा धेरैपटक फोन गरि होली । यतिबेला उ सुतिसकेकी हुनुपर्छ । उसले एसएमएस लेख्यो –Hope you are well. Best regards!
***
दिउँसो
“आज तिमी मलाई केही नभन । केही नसोध । पापाको बारेमा कुरै नगरौँ । हुन्न ? अरू नै कुरा गरौँ । प्लीज । मलाई त्यो विषयमा कुरा गर्न मन छैन । अनि मलाई लन्चको लागि हरेक शनीवार यहाँ नबोलाऊ पनि । म अब तिम्रो काखको सानो बच्चा होइन सिन्धु । यहाँसम्म लन्चमा आउन फुर्सद पनि हुन्न मलाई ।”
“…”
“उफ्फ्फ ! फेरि त्यही कुरा । मैले तिमीलाई भनेँ नि । एउटै कुरा कतिपटक भनुँ ?! भेटेकी थिएँ । लास्ट मन्थ । मैले नै बोलाएर भेटेको । मलाई नै भेट्न मन भएर ।”
“…”
“सिन्धु, म उसकी पनि छोरी हुँ ।”
“…”
“सरलले होइन । सरलले मलाई यो एउटा रिङ्गबाहेक केही किनेको छैन अहिलेसम्म । पापाले नै किनिदिएको हो । मलाई नेभी ब्लु मन पर्छ भन्ने उसलाई थाहा छ । ज्युरिकमा किनेको रहेछ । आइ वज सो ह्यापी टु सि इट ! आइ लभ इट । इजन्ट इट वन्डरफ्ल ?”
“…”
“हो । पापा आजभोलि पहिलेको भन्दा खुशी देखिन्छ । याटलिस्ट मसँग । गाला पनि पुक्कपुक्क लागेका छन् । चस्मा लगाउन थालेपछि अलि बुढो देखिएको हो कि, नत्र त हि इज स्टिल भेरी ह्यान्डसम । मलाई त उ सरलभन्दा बढी हन्यान्डसम लाग्छ । हाहाहा !”
“…”
“बाइ द वे, तिमीले राखेको खोर्सानीको अचार निकै मन पर्यो रे सरललाई । अस्ति आउँदा सोध्दै थियो बाँकी छ कि भनेर । फेरि बनाउने हो भने मलाई एक सिसा राखिदेऊ न है ।”
“…”
“भैगो त्यसोभए । म उताबाट फर्केपछि तिमीलाई भेट्न आउँदा डल्ले खोर्सानी किनेर ल्याउँला अनि अचार बनाउनु ।”
“…”
“सिन्धु, आज म तिमीलाई एउटा कुरा भन्छु । मसँग रिसाउन छोडिदेऊ तिमी । रिसाउँदा तिमी राम्री देखिन्नौ । फेरि तिमी रिसाएर नबोली बस्दा मलाई एकतमासको औडाहा हुन्छ । तिम्रो मनमा के छ भन्ने थाहा भएर पनि त्यसलाई शान्त बनाउन म केही गर्न सक्दिन । यसले मलाई झनै दु:खी बनाउँछ । तिमी एक्लै छ्यौ, मलाई थाहा छ । तिमीसँग अवसर नभएका पनि होइनन् । तर, तिमीले मलाइ एक्स्क्युज बनाएर एक्लोपना रोज्यौ । यसमा मेरो के दोष ? तिमी आफैँ भन न । म त्यसबेला सानै थिएँ । तिमीले ओछ्यानमुनि लुकाएर राखेका चिठीहरू मैले पढेकी छु । प्रवीणलाई तिनको जवाफ दिनुपर्थ्यो तिमीले । मैले केहीदिन अघिमात्र सपनामा तिमीलाई एउटा लोग्नेमान्छेसँग हिँडिरहेको देखेकी थिएँ । शायद तिमी शपिङ्ग गर्दै थियौ । कुन ठाउँ हो राम्ररी सम्झन सकिनँ । तिमी खुशी देखिएकी थियौ । तिम्रा ओठमा विशेष खालको मुस्कान थियो जुन मैले आजसम्म देखेकी छैन । देखेकी भए पनि सम्झना छैन । अनि त्यो मान्छेले पनि मलाई मायालु आँखाले हेरेको थियो । तिमीहरू हतारमा थियौ । त्यही बेला बिउँझेँछु । म आजभोलि पनि त्यो सपना फेरि देखिएला कि भनेर आश गर्छु ।”
“…”
“हाहाहाहा जुँगामुठे त थिएन । तर, हल्का दारी थिए कि ?! तिमीले गुलाबी रङ्गको कुर्ता र सेतो सुरुवाल लगाएकी थियौ । एकदम सुहाएको थियो तिमीलाई । म सोच्दैछु यसपटक दिल्लीबाट तिमीलाई यस्तै रङ्गको एउटा कुर्ता किनेर ल्याइदिऊँ ।”
“…”
“यसरी पानी परेको बेला मलाई एक्लै झ्यालको छेउमा बसेर बाहिर हेरिरहन मन पर्छ । साथमा रमपन्च पनि भए त झन् के चाहियो ?! यो झरी यसैगरि परिरहोस् म घर पुगुन्जेल ।”
***
बिहान
सानेपाको प्रवीणको घरमा रङ्गरङ्गका चरा देखिन्छन् यो मौसममा । वैशाखको न्यानो सुरु भएपछि ति कहीँबाट बतासिँदै आउँछन् र दशैँ लागेपछि जाडो सुरु हुँदानहुँदै हराउँछन् । आँपको रुखमा पोहोर गौँथली आए र गुँड लगाए । केही समयपछि छोडेर गए । त्यो गुँड जस्ताको तस्तै छ, तर रित्तो ।
ओछ्यानबाट उठेपछि उसले सबैभन्दा पहिले माछालाई खाना दियो । उसका एकमात्र ‘पेट’ । २४ घण्टा पौडिरहन्छन् । धेरै स्याहार गर्नु नपर्ने । माछा बेच्ने भाटभटेनीको कोही कृष्ण सापकोटाले उसलाई भनेको छ २-३ दिन खाना दिन बिर्से पनि माछा मर्दैनन् –लेउ खाएर बाँच्छन् । कहिलेकाहिँ खाना दिन बिर्सन्छ, र पछुतो मान्छ ।
आज कफी मसिनमा दूध छैन । त्यसैले क्यापुचिनो खान मिल्दैन । उसले कालो कफी डबल सर्भिङ्ग बनायो, र मेचमा बस्यो ।
प्रवीणको घरमा पत्रिका आउँदैन । त्यसैले उ बिहान पत्रिका पढ्दैन । उसँग यसका लागि २ कारण छन । पहिलो –’पलिटिक्स सक्स’, दोस्रो ‘रिडिङ्ग मर्निङ्ग पेपर्स इज टु मेन्स्ट्रिम’ । उ दिनमा एकदुई पटक समाचार पढ्छ त्यो पनि इन्टरनेटमा ।
अगस्ट १६, १९९५ । उसले सिन्धुसँग विवाहको प्रस्ताव गरेको थियो । उनिहरूले चिडियाखाना अगाडिको एउटा रेस्ट्रन्टमा भेटेर ‘प्लेज’ गरे –ठीक त्यसरी नै जसरी’फिडलर अन द रूफ’मा चाइटेल र त्यही गाउँको लुगा सिउने त्यो दारीवाल केटोले सुटुक्क प्लेज गर्छन् । बाहिर अनवरत पानी परिरहेको थियो । सिन्धुका आँखा आँसूले टिलपिल भएका थिए । उसले प्रवीणको हात समातेर भनेकी थिइ “दिस इज द बेस्ट डे इन माइ लाइफ प्रवीण ! आएम बर्न टु बि योर वुमन !”
प्रवीण गजक्क परेर मुस्कुराएको थियो । उनिहरू त्यसपछि प्रवीणको डेरा जान यति हतारमा थिए कि आफ्नो अगाडिको मस्रुम सुप र पकौडा खान बिर्सिएका थिए । रेस्ट्रन्टको बिल तिरे कि तिरेनन् त्यो प्रवीणले आजसम्म सम्झन सकेको छैन ।
त्यसदिनपछि काठमाडौँका सडक किनारामा २० सिजन जाकारान्दा फूले । कति कुरा जवान भए, कति वैलाए । एक वर्षपछि रचयिता जन्मी । उनिहरूले हतारमा विवाह गर्न बिर्से –ठीक त्यसरी नै जसरी उनिहरूले मस्रुम सुप र पकौडा खान बिर्सिएका थिए ।
संझनाहरू ताजा भएर आए ।
अफिसमा मिड टर्म इभ्यालुएसन चल्दैछ । तर, प्रवीणले आजको दिनलाई क्यालेन्डरमा मार्क गरिसकेको छ पहिले नै –Annual Leave! झण्डै ७० किलोमिटर टाढा भोटेकोशीको किनार पुग्नु छ आज । आफ्नै मोटरमा ।