१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय कृषि जैविक विविधता सप्ताह : विविधता संरक्षणमा छैन पर्याप्त पहल !


जैविक विविधता सप्ताह

काठमाडौं । कृषि जैविक विविधता हाम्रो जीवनको आधार तथा स्वास्थ पर्यावरणको सूचक हो । तर पछिल्ला दसकमा मुलतः मानवीय कारणले गर्दा नै कृषि जैविक विविधतामा तिब्र ह्रास आइरहेको छ। रैथाने र स्थानीय कृषि आनुवंशिक स्रोत र यस सम्बन्धि परम्परागत ज्ञान र सिपको संरक्षण र प्रवर्द्धन अति नै आवश्यक रहेको दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह ( माघ १-७) को अवसरमा जोड दिइएको छ।

राष्ट्रिय जीन बैंकका वरिष्ठ प्राविधिक अधिकृत राम प्रसाद मैनालीका अनुसार नेपालमा पछिल्लो एकसय वर्षमा ४० प्रतिशत कृषि बालि तथा जात नष्ट भएका छन् । यी मध्य कुनै कुनै प्रजातिमा १०० प्रतिशत नै नष्ट भएको पाइएको छ । त्यस्तै , ३० प्रतिशत पशु नस्लहरु पनि लोप हुने जोखिममा रहेका छन् ।

वरिष्ठ अधिकृत मैनालीका अनुसार बिदेशी जात र उत्पादन प्रतिको मोह; अनुसन्धान, शिक्षा, लगानी, अध्ययन सबै बिदेशी वस्तुहरुमा हुनु, केहि बालीहरुलाई मात्रै जोड दिनु, खोजमूलक डाटाबेस नहुनु, रैथाने जातहरुको सुधार, सम्बर्द्धन र उपयोग कम हुनु कृषि जैविक विविधता लोप हुँदै जानुको कारण रहेको बताउँछन । रैथाने जातलाई नै विकास गरेर उन्नत जातको बनाउने र यिनको दीर्घकालीन संरक्षणको लागि समुदाय , बजार र अर्थतन्त्रमा जोडनुपर्ने ऊनी बताउछन् ।

राष्ट्रिय जीन बैंकका निर्देशक डा. दोजराज खनालले प्रस्तावित कृषि ऐनमा रैथाने बाली प्रबर्द्धन कार्यक्रम , प्राङ्गरिक कृषि प्रबर्द्धनको उद्देश्य र संरक्षणका प्रावधान समेटिएको बताउँछन् । कृषि नीतिमा कृषि जैविक विविधताको संरक्षण , सम्वर्धन र सदुपयोग मार्फत जलवायु परिवर्तनमैत्री दिगो कृषिको उद्देश्य लिइएको उनले बताए ।

लोपोन्मुख कृषि जैविक विविधताको संरक्षणको लागि प्रभावकारी राष्ट्रिय कृषि जैविक विविधता रणनीति र कार्यनीति हुनु आवश्यक छ । जैविक विविधताका संरक्षकहरु किसान र स्थानीय मानिस नै हुने भएकोले सहभागीतामूलक संरक्षणमा जोड दिनुपर्छ । शिक्षामा पनि स्थानीय स्तरमा पाइने बाली , बस्तु, र प्रविधिको अध्ययन, अध्यापन हुनु अति आवस्यक भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !