२० पुस २०८१, शनिबार

प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट


तल्लो डोल्पाको मुड्केचुला स्याउको ‘हव’ बन्दै फाइल फोटो

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध (गाई–भैँसी), माछा, मासु (बाख्रा, बङ्गुर), मौरी तथा निर्यात प्रवद्र्धनबाली (कफी, अलैँची, अदुवा, बेसार) दलहन–तेलहनबाली रहेका छन् ।

परियोजनाका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलका अनुसार प्रदेश सरकारका जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हँुदै आएका ब्लक (सम्भाग)लाई ‘जोन’को तहमा स्तरोन्नति गर्न दूध (गाईभैँसी), तरकारी, मासुजन्य (बाख्रा) फलफूल तथा निर्यातजन्य बाली कफीलाई प्राथमिकीकरण गरिएको छ । यी क्षेत्रमा अपेक्षित सफलता हासिल गर्नसके ती क्षेत्रलाई विषयगत बाली तथा पशुपालनका ‘सुपर–जोन’का रूपमा परिचित गराइने योजना बनाइएको छ ।

जिल्लामा प्राथमिकतामा परेका बालीलाई स्थानीय तहले आ–आफ्नो भूगोल तथा मौसमअनुसार कार्यपालिकाको बैठकमार्फत निर्णय गरी कार्यान्वयनमा ल्याउनेसमेत निर्णय गरिएको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनुभयो । “परियोजना सञ्चालित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा परियोजना कार्यान्वयन गर्ने निणय भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ नगरपालिका र बेथानचोक गाउँपालिकामा परियोजना सञ्चालन गरिएको छ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले परियोजनाले प्राथमिकतामा राखेको बालीका विषयमा वडा भेलामार्फत छलफल गरी आवश्यकतानुसारको बाली लगाउन प्रेरित गर्दै जाने बताउनुभयो । धुलिखेल नगर उपप्रमुख विमला शर्माले वडामार्फत प्राथमिकीकरण गरिएका बालीमध्ये आयोजना माग गरी कार्यान्वयनमा जाने बताउनुभयो । “हामीले यो नै बाली लगाउनु भन्न मिल्दैन, कृषकको भूगोल र रुचिअनुसारको योजना दिनुपर्छ”, शर्माले भन्नुभयो ।

जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिले परियोजना कार्यान्वयनका लागि स्थानीयस्तरमा सहजीकरण गर्ने, परियोजनामा तोकिएका कार्यक्रममा अन्तरनिकाय समन्वय तथा अनुगमन गर्ने परियोजना सञ्चालनका दौरान आइपर्ने समस्यालाई समाधान गर्ने छ ।

यस्तै स्थानीय तहले आफ्नो पालिकाभित्रका १२ डिग्रीभन्दा कम भिरालो भएका र तत्काल बस्ती विस्तारको सम्भावना नरहेका खेतीयोग्य क्षेत्र स्थानीय भूउपयोग परिषद्मार्फत पहिचान एवं वर्गीकरण गरी उपयुक्त क्षेत्रमा जमीनको चक्लाबन्दी गरी आधुनिक खेती गर्न, गराउन परियोजनामार्फत नीतिगत व्यवस्था गराइने भएको छ । परियोजनाद्वारा हाल जिल्लाका चार नगरमा ५० रोपनीभन्दा माथि क्षेत्रफलका जमीन व्यवस्थापन गरी चक्लाबन्दी गर्दै आधुनिक खेती गराउन थालिएको छ ।

पाँचखाल नगरको शेराबेंँसीमा २०० रोपनी, दुग्धेश्वरमा ५० रोपनी र अनेकोटमा २०० रोपनी, मण्डनदेउपुर नगरको कुन्ताबेंँसीमा २०० रोपनी, ज्वानेटारमा १०० रोपनी र बाँसगेडीमा १०० रोपनी तथा पनौती नगरमा ४०० रोपनी चक्लाबन्दी गरी आधुनिकीकरण खेती गराउन थालिएको हो । यी क्षेत्रमा आलुलगायत मौसमअनुसारका तरकारी तथा खाद्यान्न खेती भइरहेको छ । स्थानीय जनप्रतिनिधि जागरुक भए यो वर्ष तीन हजार ७०० रोपनीमा चक्लाबन्दी गरी आधुनिक खेती गर्न सकिने परियोजनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !