वाग्मती , ३ कात्तिक । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्ने व्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको छ । केन्द्रले नेपाली बजारमा वार्षिक उपलब्ध हुने माछामध्ये भण्डै रू दुईअर्ब मूल्य बराबरको सात हजार पाँचसय मेट्रिकटन खाने माछा उत्पादनमा प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको छ ।
माछापालक किसानहरूका लागि सहुलियत मूल्यमा माछाको भुरा उपलब्ध गराउने, किसानहरूलाई आवश्यकताअनुसार प्राविधिक ज्ञान र सिपबारे जानकारी दिने साथै माछापालन व्यवसाय गर्न माछापोखरी तयार गर्नेदेखि बजारीकरण गर्ने कार्यमा केन्द्रले सहजीकरण गर्दै आएको छ ।
माछापालनमा रुचि राख्ने किसानहरूलाई व्यावसायिक रूपमा प्रबद्र्धन गर्नका लागि विविध कार्य पनि गर्दै आइरहेको केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत नारायण गिरीले जानकारी दिनुभयो ।
छिमेकी देश भारतमा माछाको व्यावसायिक उत्पादन गर्दै आएकाले नेपालमा पनि माछाको व्यावसायिक उत्पादन गर्नुपर्छ भनेर हेटौंडामा वि.स. २०२४ मा व्यावसायिक माछापालन केन्द्र स्थापना गरिएको थियो ।स्थापना कालमा माछाको उत्पादन र बिक्रीमा मात्र केन्द्रीत उक्त केन्द्रले पछि भने मत्स्य विकास केन्द्रको रूपमा ह्याचरीमार्फत भुराहरू समेत उत्पादन गरेर बिक्री वितरण गर्न थाल्यो ।
उक्त केन्द सङ्घीयता कार्यान्वयनसँगै हाल प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको रूपमा परिणत भएको छ ।
करिव ७२ बिघा अर्थात ४७.०९ हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्रमा हाल साना र ठूला गरी ४३ वटा पोखरी छन् ।
माछाका प्रजातिको अध्ययन , अनुुसन्धान तथा उत्पादनसमेत गर्नाका साथैै ब्यावसायिकरूपमा माछा पालन व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्य लिइएको सो केन्द्रमा माछा पालन तथा भुरा उत्पादन गर्ने र माछाबारे थप अनुसन्धान पनि गर्ने गरिन्छ ।
केन्द्रले बारा, पर्सा, रौतहट, मकवानपुरलगायत जिल्लामा सञ्चालनमा रहेका विभिन्न साइज एवं आकारका एक हजार ५०० हेक्टर क्षेत्रफलको माछा पोखरीका लागि वार्षिक रूपमा करिब छ करोड वटा सबै प्रकारको माछाका भुरा आपुर्ति गरिरहेको छ । भुराको माध्यमबाट वार्षिक एक हजार पाँचसय कृषकलाई माछा पालन गर्न सहयोग पुग्नाका साथै वार्षिक सात हजार पाँचसय मेट्रिकटन खाने माछा उत्पादनमा योगदान पुगेको केन्द्रको तथ्याङ्क छ ।
हाल उक्त केन्द्रले बारा, पर्सा रौतहट तथा मकवानपुरका पाँच हजार माछापालक कृषकलाई सेवासँगै टेवा पनि पु¥याउदै आएको छ । माछापालक कृषकहरूले करिव रू एक अर्ब ८७ करोड ५० लाख बराबरको कूल माछा उत्पादन गरेर प्रतिपरिवार कृषकले सरदर रू पाँच लाख वार्षिक खुद मुनाफा गर्दै आएकोे केन्द्रको अनुमान छ ।
यसवाहेक केन्द्रले बेला बेलामा खानाका लागि तयार गरिएका ठूला माछाहरू सहुलियतदरमा समेत विक्री गर्ने गरेका कारण सर्वसाधारण उपभोक्ता र व्यवसायीहरूको केन्द्रमा माछा खरिद गर्न घुइँचो लाग्ने गर्दछ ।
तराईकोभन्दा चिसो पानी हुने हुँदा यहाँको माछा स्वादिलो भएकै कारण माछा निकाल्ने बेला माछा किन्न अघिल्लै दिनदेखि विशेष कुपन (टोकन) लिएर लाम लाग्नुपर्ने हुन्छ । सामान्य बजारको माछाभन्दा ताजा हुने र सस्तो अनि चिसो पानिमा हुर्किएको माछा स्वादिलोसमेत हुने भएकोले यहाँ माछा निकाल्दा लाइन लागेरै भएपनि माछा किन्ने गरेको हेटौंडा–४ का अनिल उप्रेतीले बताउनुभयो ।प्राविधिक सेवा र टेवा प्राप्त गरिरहेका कृषकहरूले बारा पर्सा तथा रौतहट जिल्लाबाट उत्पादन हुने गरेको छडी तथा ताजा र जिउदो माछाले देशलाई माछामा आत्मनिर्भर हुनमा योगदान पु¥याउदै आएको केन्द्रले जनाएको छ ।
केन्द्रले एक दुई दिनका साना (जिराको दाना जत्रो) , एक इन्च , र हातका औंला आकारका भुराहरू वार्षिक करिव छ करोड थान विभिन्न प्रजातिका माछाका भुराहरू विक्री वितरण गर्ने गरेको छ ।
अब माछा पालन व्यवासाय गर्दा समयसापेक्ष, प्रविधिमैत्री र आधुनकीकरणतर्फ जोड दिनुपर्ने केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत गिरीले जानकारी दिनुभयो ।केन्द्रले आफ्नो हालका प्राकृतिक जालाशयका कार्यक्रमतर्फ मत्स्य बीज र उत्पादनतर्फ ह्याचलिङ्ग(जिरा आकारका) पाँच करोडभन्दा बढी, फ्राई(पाँचदेखि १० ग्रामका) २५ लाखभन्दा बढी र फिङ्गरलिङ्ग(औंलाका आकारका) १३ लाखभन्दा बढी उत्पादन गर्ने लक्ष्य सहित मत्स्य पालन गर्नमा सहजीकरण गर्ने , सिपमूलक तालिमको व्यवस्था गर्दै माछा मारी जिविकोपार्जन गर्ने समुदायको जीवनस्तरसमेत उकास्न मद्धत पु¥याउने, प्रकाकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको रूपमा काम गर्दै आएको छ ।हाल विभिन्न पदका १६ जना कर्मचारीको दरवन्दी रहेको यस केन्द्रमा आठ कर्मचारी कार्यरत छन् ।