२९ चैत्र २०८२, आइतबार

मृत्यु संस्कारबाहेक अरुलाई पास नदिइने


ट्राफिक प्रहरी

चिप्लेढुङ्गा, ४ वैशाख । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गरिएको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ । प्रशसनले आज एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै इ–पास उपलब्ध गराउने जनाएको छ ।

सूचनामा उल्लेख भएअनुसार सवारी इ–पास पेश भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प्रदान गरिने जनाइएको छ । सवारी पास लिने अत्याधिक भएपछि त्यसको व्यवस्थापन गर्न उक्त निर्णय लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार इ–पासका लागि एक हजार ६ सयले निवेदन दिएका छन् ।

अन्य सामान्य विषयका लागि इ–पास प्रणालीमा अनुरोध नगरिदिन समेत उहाँले आग्रह गर्नुभयो । लकडाउन थप प्रभावकारी बनाई कोभिड– १९को सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रहसहित सूचना जारी गरिएको ढकालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशनलाई समेत ध्यान दिँदै आजदेखि इ–पासको शुरुआत गरिएको उहाँको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !