२१ चैत्र २०८२, शनिबार

नासो गाउँपालिकाका विभिन्न वडामा सहायता कक्ष


गाउँपालिका

मनाङ, १० चैत । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नासो गाउँपालिकाका विभिन्न क्षेत्रमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । मनाङ पर्यटकीयस्थल भएकाले पनि पर्यटकको आवागमन भइरहने हुँदा सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

घलेका अनुसार गाउँपालिकाका विभिन्न वडामा सहायता कक्ष स्थापना गरिएको छ । स्वास्थ्यकर्मी राखेर मनाङ प्रवेश गर्ने पर्यटक तथा स्थानीयवासीलाई स्यानिटाइजर तथा साबुनपानीले हात धुन सिकाउने गरेको उहाँले बताउनुभयो । गाउँपालिकावासीलाई सचेत रहेर बस्न आग्रह गर्दै अध्यक्ष घलेले आफू सचेत रहँदै अरूलाई सचेत गराउने कार्य भइरहेको बताउनुभयो । “मनाङमा विदेशी पर्यटक धेरै भित्रिने भएकाले सचेत छौँ, पर्यटक तथा नयाँ मानिस यहाँ प्रवेश गर्दा स्थानीयवासी त्रसित छन्, त्यसको नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाले सचेतनाका कार्यक्रम भने गरिरहेको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले बाहिरी जिल्ला तथा पर्यटकलाई विशेष निगरानी राखेको समेत उहाँले बताउनुभयो । गाउँपालिकाका विभिन्न क्षेत्रमा आइसोलेशन कक्ष निर्माणका लागि छलफलसमेत भइरहेको गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत गोविन्दबहादुर रानाभाटले बताउनुभयो । मनाङका प्रजिअ पुष्पराज पौडेलले जिल्लाका विभिन्न क्षेत्रमा सहायता कक्ष स्थापना गरिएको र विशेष सतर्कता अपनाइएको बताउनुभयो । उहाँले नासो गाउँपालिका मनाङको प्रवेशद्वार भएकाले विशेष निगरानी राखिएको तथा सतर्कता अपनाइएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !