३० चैत्र २०८२, सोमबार

बीस प्रतिशत रकम अनाथ असहायका लागि


Nepalpatra

१५ पुस, बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफूले पाउने सुविधाको २० प्रतिशत रकम अनाथ असहायका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले पदमा रहेसम्म राज्यबाट पाउने सेवासुविधाको २० प्रतिशत गाउँपालिकाभित्रकै अनाथ, असहाय र अपाङ्ग बालबालिकाका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

रकम गरीब, असहाय, अनाथ बालबालिकाको पोषण, शिक्षा, पठनपाठनलगायत कुरामा खर्च गर्ने गरी सहयोग गर्ने घोषणा गर्नुभएको हो । शाहीले गाउँपालिकाले दिने सेवासुविधामा कुनै राजनीतिक पूर्वाग्रह नगरी सम्पूर्ण जनताका पक्षमा विकास निर्माणका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाभित्र शुद्ध खानेपानी, गुणस्तरीय शिक्षा, पूर्ण सरसफाइ, टोलटोलमा स्वास्थ्य शिक्षा, विद्युत् र स्वरोजगारलाई प्रथामिकता दिने उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेरबहादुर शाहीले नेपाल सरकार हाल स्थानीय तहमा कर्मचारी समायोजनको प्रक्रियामा रहेकाले कर्मचारी पूरा हुने बित्तिकै प्रत्येक वडामा शिविर सञ्चाल गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

कुष्ठरोग पहिचान विशेष शिविर सञ्चालन

जिल्लाको गौमूल गाउँपालिकाको घटमुनामा कुष्ठरोग पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविर गाउँपालिकाको सहयोग, सामुदायिक स्वास्थ्य एकाइको आयोजना र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालन गरिएको हो ।

दुई दिन सञ्चालन हुने शिविरको पहिलो दिन ३२५ जनाले सेवा लिएका छन् । कुष्ठरोग पहिचान विशेष शिविर सञ्चालन गरिए पनि अन्य रोगको पनि उपचार गरिएको अनमी लक्ष्मी बोहराले बताउनुभएको छ । शिविरमा पहिलो दिन मात्र इम्प्लाण्ट सात जनाले गराएका छन् भने स्वास्थ्य उपचार सेवा १२५ महिला र ४९ पुरुषले लिएका छन् । शिविरमा ४६ जनाको एक्स–रे गरिएको छ ।

स्वास्थ्य सेवा संवेदनशील भएकाले गाउँपालिकाले स्थानीयवासीलाई घरमै चिकित्सकीय सेवा दिनेसहितका कार्यक्रमलाई प्राथमिकता दिने गरेको गाउँपालिका अध्यक्ष हरि रोकायाले बताउनुभएको छ ।

शिविरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक रूपचन्द्र विश्वकर्मा, दुर्गाराज महर्जन, हरिचन्द्र विक, धमरकुमार बुढा र मानबहादुर नेपालीसहितले सेवा दिइरहेका छन् । यसअघि जिल्लाको त्रिवेणी नगरपालिकामा सञ्चालन गरिएको शिविरमा दुई जना कुष्ठरोगीको पहिचान भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !