बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई देश बनाउन सबैको साथ चाहिने भनेर कटाक्ष गरेका छन् । रुपन्देहीको भैरहवामा आज शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश बनाउन सबैको साथ चाहिने र त्यसको नेतृत्व रास्वपाले गरिरहेको बताएका हुन् ।
उनले देश एक्लैले बनाउन नसकिने बताए । ‘हामी जिम्मेवारीमा आएको ६ महिना पनि बितेको छैन । देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन’, आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’
महामन्त्री आचार्यले पार्टीसँग जोडिएका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई पुराना दल र त्यसमा आबद्ध व्यक्तिलाई गाली गरेर नभई कामबाट जवाफ दिन आग्रह गरे । उनले स्थानीय तह र प्रदेशको निर्वाचन आउँदै गरेको उल्लेख गर्दै ती निर्वाचनमा पार्टीका नेता कार्यकर्ताको साथ चाहिने बताए ।
रास्वपामा पुराना पार्टीबाट धेरै मान्छे आएको स्वीकार गर्दै उनले नवप्रवेशी उनीहरुलाई चित्त दुख्नेगरी टिकाटिप्पणी र गाली नगर्न आग्रह गरे । उनले आफ्ना सांसदहरूलाई जोगाउने र गलत गर्दा प्रश्न गर्ने काम पनि गर्नका लागि नेता कार्यकर्तालाई सुझाव दिए ।









