काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रिहा भएका छन् । एमाले अध्यक्ष ओली पक्राउ परेको १३ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका हुन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले ओलीलाई गत चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।
ओली पक्राउ परेलगत्तै ओलीकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्चले चैत २३ गते बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।













